
सिरहाको मिर्चैया–कल्याणपुर सडक खण्डमा पर्ने कटहा पुल नजिकबाट हतियारधारी लुटेराहरुले बुधबार दिउँसो ९ लाख रुपैयाँ लिएर फरार भएका छन् ।
ज.६ प.४२५६ नम्बरको मोटरसाइकलमा राजाराम सव मनि ट्रान्सफर कल्याणपुरका कर्मचारीले मिर्चैयास्थित ग्लोबल आईएमई बैंकबाट ९ लाख रुपैयाँ लैजाने क्रममा लुटपाट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । कल्याणपुरस्थित ग्लोबल आईएमईको मनि ट्रान्सफरका कर्मचारी उपेन्द्र साहलाई हतियार देखाई रुपैयाँ लुटेको जिप्रका सिरहाका सूचना अधिकारी रवीन्द्र पाण्डेयले जनाए । मनि ट्रान्सफरका कर्मचारीले प्रयोग गरेको मोटरसाइकललाई घेरा हालेर रुपैयाँ लुटेको सूचना प्राप्त भएको पाण्डेयले बताए । ‘दुईवटा मोटरसाइकलमा सवार ४ जनाले मोटरसाइकलमा सवार कर्मचारी र सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर रकम लुटेको छ’ पाण्डेयले भने, सोधपुछ भइरहेको छ, तर दोषी पक्राउ परेको छैन् ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरिकृष्ण केसीले मनि ट्रान्सफरका कर्मचारीसित नेपाल प्रहरीका एकजना जवान पनि मोटरसाइकलमा सवार रहेको बताए । अनुसन्धानको क्रममा केही व्यक्तिसित सोधपुछ गरिएको बताउँदै चाँडै दोषी पत्ता लाग्ने उनले दाबी गरे । स्रोतहरुका अनुसार मनि ट्रान्सफरका कर्मचारी साह र उनको सुरक्षामा खटेका सुरक्षाकर्मी पनि शंकाको घेरामा रहेका छन् । लुटेराहरुले प्रयोग गरेका मोटरसाइकलको नम्बर खुल्न नसकेको बताइएको छ । सुरक्षाकर्मी र मनि ट्रान्सफरका कर्मचारीले लुटेराहरुको प्रतिवाद गरेको नदेखिएकाले पनि उनीहरु शंकाको घेरामा रहेको एकजना सुरक्षाकर्मीले बताए । ९ लाख नगद लुट्ने घटना दिउँसै भएकाले व्यवसायीहरु त्रसित भएका छन् ।