अपडेट 
२०७९ फाल्गुन ११, बिहीबार ०८:०२

महोत्तरीको मटिहानी नगरपालिका–७ मा नवनिर्मित आयुर्वेद औषधालय भवनको उद्घाटन गरिएको छ । मटिहानी नपाका प्रमुख हरि प्रसाद मण्डलले बुधबार आयोजित एक समारोहबीच भवनको उद्घाटन गरेका छन् ।

६ कोठे आयुर्वेद औषधालय भवन करिब ३० लाखको लागतमा निर्माण भएको नगरपालिकाका ईन्जिनियर विमलेश साहले जानकारी दिए । २०५१ सालमा निर्माण भएको सो आयुर्वेद भवन जीर्ण भइ काम नलाग्ने अवस्थामा पुगेको थियो । सो भवनलाई पुर्ननिर्माण गरिएको ईन्जिनियर साहले बताए । मटिहानी नगरपालिका–७ का वडा अध्यक्ष जितनारायण माझीको सक्रियतामा भएको कार्यक्रममा नगर प्रमुख मण्डलले जनतालाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले जीर्ण भवनलाई जिर्णोद्धार गरी नवनिर्माण गरिएको जानकारी दिए । भवन निर्माण भएपछि आयुर्वेद स्वास्थ्य क्षेत्रमा टेवा पुग्ने प्रमुख मण्डलले विश्वाससमेत व्यक्त गरेका थिए । त्यसैगरी , कार्र्यक्रम मा जनतासंग प्रत्यक्ष रुपमा सम्बन्धित स्वास्थ्य क्षेत्रको विकासको लागि मटिहानी नगरपालिकाले गर्दै आएको कामको सराहना गरे ।

स्वास्थ्य क्षेत्रमा रहेका केही समस्याहरु पनि विस्तारै समाधान हुँदै जानेमा वक्ताहरुले विश्वास व्यक्त गरे ।कार्यक्रममा वडा अध्यक्षहरु अब्दुल गफार राईन, कलिम अन्सारी, रितेश साह, कार्यपालिका सदस्य अरुण नाहर, गा.वि.स. पूर्व अध्यक्ष राम कुमार मण्डल, लोसपा नेपालका नगर अध्यक्ष श्याम कुमार मण्डल, नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको जिल्ला अध्यक्ष नरेश महतोलगायतका वक्तहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Comment

Related News