अपडेट 
२०७९ फाल्गुन ११, बिहीबार ०८:२२

मिथिला माध्यमिकी परिक्रमा बिहीबार (आज) महोत्तरीको ऐतिहासिक स्थल मटिहानी पुग्ने भएको छ ।

यस अघि डोलासहित परिक्रमाका यात्रीहरु बुधबार भारत बिहारको गिरिजास्थानमा रात्रि विश्राम गरेका छन् । धनुषाको ठेरा कचुरी स्थित मिथिलाबिहारी स्थानबाट सोमबारदेखि सुरु भएको परिक्रमा यात्रा हनुमानगर (हनुमानगढी)मा रात्रि विश्राम गर्दै मंगलबार बिहानै कल्याणेश्वरको लागि प्रस्थान गरेको थियो । मंगलबार यात्रीहरुले कल्याणेश्वर स्थान (कलना)मा विश्राम गरेर बुधबार बिहान गिरिजास्थानको लागि प्रस्थान गरेको थियो ।

मिथिलाञ्चलको ऐतिहासिक धार्मिक महत्व बोकेको १५ दिने मिथिला माध्यमिकी परिक्रमा फागुनको औंशीदेखि सुरु भइ पूर्णिमासम्म नेपाल र भारतको गरी १ सय २८ किलोमिटरको दूरी तय गर्दै पुनः जनकपुरधाम पुगेर समापन हुने गरेको छ । अन्य वर्ष झैं यस वर्ष पनि मिथिला बिहारी र किशोरीजीको डोलाको साथ–साथ परम्परागत बाजागाजा, झाँकी किर्तनसहितका मौलिक पहिरनमा हजारौं यात्रीहरु सहभागी छन्। हजारौं श्रद्धालु भक्तजनको भीडले १५ दिनसम्मको एउटा धार्मिक अभियानमा हिंडिरहेको यो १५ दिने परिक्रमाले जनकपुरधामलाई धार्मिक पर्यटनस्थलको रूपमा अलग पहिचान दिएको छ ।

नेपाल– भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेको छ । अन्तगृह परिक्रमा समापन भएपछि मात्रै जनकपुरधाममा होली मनाउने परम्परा रहीआएको छ ।

Comment

Related News