
सरकारले फागुन बिहीबारदेखि २५ गतेसम्म हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान सुरु गरेको छ ।
अभियानको क्रममा धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा बिहीबार एक कार्यक्रमबीच हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रमको शुभारम्भ गरिएको छ । बिहीबार बिहान गापा अध्यक्ष भोगेन्द्र मिश्रको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु गरिएको छ । सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष फूल कुमारी यादव,वडाध्यक्षहरु नागेन्द्र यादव,दिलीप यादव,तेजकुमार यादव,रमेश कुमार साहसहितका उपस्थित व्यक्तित्वहरुले औषधि खाएर अभियानको शुभारम्भ गरेका थिए । अभियानको उद्घाटन भएको केही बेरमै ४० जना भन्दा बढीले औषधि खाएको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस वर्ष हात्तीपाइले प्रभावित १५ जिल्लाहरूमा औषधि सेवन अभियान सुरु गरिएको छ ।
झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, बाँके दाङ र कैलाली हात्तीपाइले विरुद्धको औषधि खुवाइने अभियान सुरु भइसकेको जनाइएको छ । तालिम प्राप्त स्वास्थ्यकर्मीले वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, सहकारी धार्मिक स्थल आदि मा बुथ राखि यो औषधि खुवाइरहेको मन्त्रालयले जनाएको छ ।