
बैंकहरुले तरलता अभाव देखाउँदै ऋण दिन बन्द गरेको र पहिले लिएको ऋणमा जथाभावी ब्याजदर बढाएको भन्दै सप्तरीका व्यापारीहरुले प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका छन् ।
सप्तरी उद्योग वाणिज्य संघको अगुवाइमा बिहीबार प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । संघका अध्यक्ष लालुप्रसाद अग्रवालको नेतृत्वमा पुगेको टोलीले ज्ञापनपत्रमार्फत सहज तरिकाले ऋण प्रवाह र जथाभावी बढाउने गरेको ब्याज कमी गर्न माग गरेका छन् । कोभिडका कारण धरासायी बनेको व्यापार व्यवसाय लयमा फर्कन लागेको बेला ऋण प्रवाह बन्द गर्नाका साथै ब्यजदर अत्यधिक बढाउँदा व्यवसायीहरुले आत्महत्या नै गर्नुपर्ने अवस्था आएको ज्ञापनपत्रमा उल्लेख छ । ऋण र ब्याजकै चक्करमा फसेर तनाव झेल्न नसकि जिल्लामा आत्महत्याको घटनासमेत बढ्दै गएको तर्फ ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीले यसतर्फ अविलम्ब पहल गर्नुपर्ने ज्ञापनपत्रमार्फत माग गरिएको छ । भारतीय सिमानासंग जोडिएको सप्तरीमा खुल्ला नाकाका कारण भन्सार छलेर समान भित्र्याउने गरिएको कारण जिल्लाको व्यापार व्यवसाय चौपट हुन लागेको भन्दै त्यसमा सुधारका लागि ज्ञापनपत्रमा माग गरिएको छ ।
अर्थमन्त्री, वाणिज्य तथा आपूर्ति मन्त्री, मुख्यमन्त्री, उद्योग वाणिज्य संघ केन्द्रीय कार्यालय, जिल्ला प्रहरी कार्यालय र भन्सार कार्यालयलाई बोधार्थ दिइएको उक्त ज्ञापनमार्फत अविलम्ब सो समस्याको समाधान नखोजिए बाध्य भइ आ–आफ् नो पसल, प्रतिष्ठान र उद्योगमा ताल्चा लगाइ सम्पूर्णको साँचो प्रशासनलाई बुझाई आन्दोलनमा उत्रिने चेतावनीसमेत दिइएको छ ।