
डिभिजन वन कार्यालय रौतहटको आयोजनामा बिहीबार संचारकर्मीहरुसंगको समन्वय बैठक डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ ।
सर्वसाधारण जनताको आधारभूत आवश्यकता एवं हितलाई ध्यानमा राखी घरकाज ,जनसहभागिताद्वारा गरिने विकास निर्माण कार्य ,दैवी प्रकोप तथा कृषि औजारको लागि सरल र सहुलियत दरमा काठ दाउरा उपलब्ध गराउनेबारे जानकारी दिने उद्देश्यले समन्वय बैठकको आयोजना गरिएको थियो । बैठकमा सहभागी भएका विभिन्न सञ्चार माध्यममा आबद्ध संचारकर्मीहरुलाई डिभिजन वन अधिकृत सुनिल कुमार कर्णले जिल्ला वन पैदावर आपूर्ति समितिको गठन भइ कार्ययोजनासमेत पारित भइसकेकोले काठ दाउराको वितरण गरिने जानकारी गराए । मधेश प्रदेश सरकारले कार्य योजना पारित गरिसकेकोले काठ आपूर्तिको लागि खुल्ला गरिने जानकारीसमेत उनले दिए । घरकाज ,दैवी प्रकोपमा परेकाहरुले काठको लागि दर्ता गराएको निवेदनको संख्या बढ़ी रहेकोले दर्ता क्रम संख्या अनुसार काठ उपलब्ध गराउने बताए । २० देखि २५ जनाको विवरण सार्वजनिक गरेर ७ देखि १० दिनको समय दिने र सोही अवधिमा माग भए अनुसारको काठ दाउरा उपलब्ध गराउने प्रमुख कर्णले जानकारी दिए । समितिबाट रेटसमेत निर्धारण गरिएको छ । उनले भने,‘सरकारद्वारा व्यवस्थित वन , सामुदायिक वन , साझेदारी वन ,चकला वन र अन्य डिभिजन वन कार्यालयबाट काठ दाउरा उपलब्ध हुने स्रोत रहेको छ ’ २ लाख क्यू फिट काठ उपलब्ध रहेकोले उपभोक्तालाई सहज रुपमा आपूर्ति हुन सकिने बताए ।
घरकाजको लागि साल ए ग्रेडको १८५१ घन फिट , बी ग्रेडको १३४२ रुपैया ७२ पैसा , सी ग्रेडको १००३ रुपैयाँ ७२ पैसा र डी ग्रेडको लागि ५७९ रुपैया ९७ पैसा घन फिट बिक्री मूल्य निर्धारण गरिएको छ भने घरकाज धार्मिक कार्यको लागि दौराको मूल्य सालको २८ हजार चट्टा , सिसौ २९ हजार चट्टा र अन्य जातका २३ हजार ५ सय रुपैयाँ चट्टा , शव दाह संस्कारको लागि सालको दौरा २५ हजार चट्टा र अन्यको २२ हजार रुपैयाँ चट्टा मूल्य तोकिएको अधिकृत कर्णले जानकारी दिए ।