
ध्रुबकुमार झा
जनकपुरधामसहितको सेरोफेरोमा दिन प्रतिदिन ध्वनि प्रदूषण बढ्दै गएका कारण सर्वसाधारण दिक्क भएका छन् । जथाभावी म्यूजिक साउण्ड बजाइने र बिहेमा रातभरि नै लाउडस्पीकर बजाइने गरिएको कारण सो अवस्था देखिएको छ ।
जन्ती जाँदाखेरि जनकपुरधाम बजार क्षेत्रमा डीजेको आवाजसहित गरिने नगर परिक्रमाले गर्दा सर्वसाधारणलाई चर्को आवाजकै कारण समस्या भइरहँदा पनि स्थानीय प्रशासन मौन रहेको आमगुनासो देखिन्छ । सरकारले ध्वनि प्रदूषण मापदण्ड निर्धारण गरे पनि तोकेको मापदण्ड भन्दा दोब्बर बढीले जनकपुरधाममा ध्वनि प्रदूषण हुने गरेको पाइएको वातावरण विज्ञ उदेश्वरलाल दास बताउँछन् । उनी भन्छन्,‘हामीले केही दिन अघि गरेको एक अध्ययनमा जनकपुरधामको रामानन्द चोक,शिवचोक,जनकचोक र प्रादेशिक अस्पताल क्षेत्रमा अत्यधिक ध्वनि प्रदूषण भएको देखिएको थियो।’ कहिले पूजाको अवसरमा त कहिले बिहेबारीको बहानामा ठूलो स्वरमा बजाइने लाउडस्पीकर र डीजेको चर्को आवाजले गर्दा सर्वसाधारणहरुको निन्द्रा भंग भइ समस्या हुने गरेको जनकपुरधाम उपमहानगपालिका–४ का अमित ठाकुरले गुनासो पोखे । ध्वनि प्रदूषणकै कारण लगातार तीनरात सुत्न नसकेर तनाव उत्पन्न हुन पुगेका ठाकुर भन्छन्‘सम्बन्धित निकायले यसलाई नियन्त्रण गर्नुपर्छ अन्यथा कतिपय व्यक्ति ह््रदयघात भइ मर्नेछन्’। दैनिक काम, थकान, अस्तव्यस्त यतायातसंगै दिनप्रति दिन झेल्नुपर्ने ठूल–ठूलो आवाजले शहरी जीवन कष्टकर बन्दै गएको जउनपा–७ का व्यवसायी राजकुमार साहले बताए ।
उनले भने,‘मन्दिर मस्जिदमा लगाइएको लाउडस्पीकर तत्काल हटाउनुपर्छ अध्यात्मिक भजन किर्तन पनि मनको शान्तिको लागि हुन्छ न कि चर्को स्वरमा बाजा गाजा बजाएर मनलाई अझै अशान्त पार्न त्यसलै यहाँका मन्दिर मस्जिद व्यवस्थापकहरुले पनि यो कुरा पनि बुझिदिनु पर्छ ।’ चर्को आवाजकै कारण कतिपय व्यक्ति ह््रदयघातको शिकार समेत भइसकेको बताउँदै स्वास्थ्यकर्मी अमरेश तिवारीले ध्वनि प्रदूषण नियन्त्रण नगरे यसको दीर्घकालीन प्रभाव झनै विकराल रुपमा पर्ने निश्चित रहेको चिन्ता व्यक्त गरेका छन् । ध्वनि प्रदूषण कम गर्न कानूनी मापदण्ड बनाइएको भए पनि पालना नहुँदा ध्वनि प्रदूषणले शहरी जीवन दैनिक कष्टकर बन्दै गएको उनले बताए छ । अब त शहरमा मात्र होइन गाउँ– गाउँमा ध्वनि प्रदूषणले सर्वसाधारण आजित पनि बनाइएको हुँदा कानून लागु गर्न सम्बन्धित निकाय अगाडि नबढ्नु दुर्भाग्यपूर्ण रहेको उनले बताए । नेपाल सरकारले २०६९ कात्तिक १३ गते राजपत्रमा सूचना प्रकाशित गरी ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ जारी गरेको थियो । सो अनुसार औद्योगिक क्षेत्रमा दिनको समयमा ७५ डेसिबल र रातमा ७० डेसिबल, व्यापारिक क्षेत्रमा ६५ र ५५ डेसिबल, ग्रामीण आवास क्षेत्रमा ४५ र ४० डेसिबल मात्र हुनुपर्ने तोकिएको छ । त्यस्तै, शहरी आवास क्षेत्रमा ५५ डेसिबल र ५५, मिश्रित आवास क्षेत्रमा ६३ र ४० डेसिबल र शान्त क्षेत्रमा ५० डेसिबल र ४० डेसिबल गरी ६ क्षेत्रको ध्वनिको सीमा निर्धारण गरिएको छ । तर,जनकपुरधाम नगर क्षेत्रमा निर्धारित सीमा भन्दा चार गुणा बढी चर्को स्वरमा आवाज मापन गरिएको वातवरण विज्ञ दासको कथन छ । दुई सय डेसिबलसम्मको ध्वनि बजाइने गर्नाले सर्वसाधारणले समस्या भोग्न बाध्य हुनु परेको छ ।
ध्वनि प्रदूषणले गर्दा उच्च रक्तचाप र तनाव बढ्ने, श्रवणशक्ति गुम्ने, निन्द्रा नलाग्ने जस्ता स्वास्थ्य समस्या निम्त्याउने गरेको डा.चिकित्सक विजयकुमार सिंहले बताए । उनी भन्छन्,‘ध्वनि प्रदूषणले श्रवणशक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर गर्ने गरेको छ ।’ जनकपुरधामसहित आसपासको क्षेत्रमा अस्पताल,स्वास्थ्य संस्था अगाडि नै ठूल –ठूलो स्वरमा कानको जाली नै फुट्ने गरी डीजे बजाउनेहरु प्रशस्तै देखिन्छन् । वातावरण संरक्षण ऐन २०७६ र वातावरण संरक्षण नियमावली २०७७ बमोजिम प्रदेश भित्रको ध्वनिलगायतको प्रदूषण नियन्त्रणको अधिकार स्थानीय प्रशासनको सहयोगमा प्रदेशको उद्योग,पर्यटन तथा वन मन्त्रालयसंग रहेको छ र स्थानीय तह भित्रको ध्वनि प्रदूषण नियमनको अधिकार स्थानीय प्रशासनकै सहयोगमा सम्बन्धित स्थानीय तहको हुनेछ भनि कानूनी व्यवस्था छ ।
यस प्रयोजनका लागि प्रदेशका मन्त्रालय र सम्बन्धित स्थानीय तहले वातावरण निरीक्षक तोक्नुपर्ने कानूनी व्यवस्था रहेको मधेश प्रदेशका उद्योग ,पर्यटन तथा वन मन्त्रालयका अधिकृत सुजित कुमार झाले बताए । कानूनी प्रावधान अनुसार गत भदौ २९ गते नै मन्त्रालयबाट प्रदेशका लागि निरीक्षकको लागि सिफारिस गरे पनि तत्कालीन मन्त्री शत्रुधन महतोले निर्णय नगरिँदा अहिलेसम्म निरीक्षक नै नतोकिएकोले प्रदूषण नियन्त्रणको काम ओझेलमा परेको अधिकृत झाले बताए । ‘नवनियुक्त मन्त्रीज्यूलाई हामीले यसबारे जानकारी गराएका छौं उहाँले यथाशीघ्र यसबारे निर्णय गरिने जानकारी दिनुभएको छ।’झाले प्रष्ट गरे । वर्तमान अवस्थमा नयाँ मन्त्रीले कार्यभार सम्हालेपछि निरीक्षक तोक्ने कामलाई गम्भीरतापूर्वक लिएको राज्यमन्त्री रहबर अन्सारीले बताए । उनले भने,‘ ध्वनि प्रदूषणबारे थुप्रै गुनासोहरु आएको छ , यसको नियन्त्रणका लागि हामीले काम अगाडि बढाइसकेका छौं,यसको कार्यविधि तयार भइसकेको र यस विषयलाई हामीले संवेदनशीलताका साथ लिएका छौं।’ कानूनले जे सुकै व्यवस्था गरे पनि समाजमा हुने गरेको बिहेबारी जस्ता कार्यको बहानामा व्यवहारिक कारण देखाउने गरेकोले अन्य अपराध जस्तो कडा व्यवस्थापन गर्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिएका छन् । उनले यसको नियन्त्रणका लागि विभिन्न निकायहरुसंग कुराकानी भइरहेको बताउँदै यथाशीघ्र ध्वनि प्रदूषण नियन्त्रणका लागि अगाडि बढ्ने आश्वासन दिएका छन् ।
रातिको बेला सुत्नै नसक्ने गरी कसैले चर्को आवाज बजाएको खण्डमा १०० नम्बरमा फोन गरे सम्बन्धित व्यक्तिमाथि कारबाही गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् । यता ध्वनि प्रदूषण सम्बन्धी थुप्रै गुनासो आएको बताउँदै धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल भन्छन्,‘हामीले सबै सरोकारवालाहरुसंग छलफल गर्न थालेका छौं,ध्वनि प्रदूषण अति नै बढेको छ यसलाई नियन्त्रण गर्न ठोस निर्णय छिट्टै गर्नेछौं।’ ध्वनि प्रदूषण मानवजीवनको लागि नै ठूलो समस्या रहेको र यसमा हामी संवेदनशील रहेको बताउँदै उनले भने,‘ध्वनि प्रदूषणको अधिकांश घटना सामाजिक ,सांस्कृतिक पाटोसंग जोडिएकोले तत्कालै कारबाही गर्न सकिँदैन त्यसैले यसबारे सरोकारवालासंग छलफल आवश्यक रहेको छ र हामी व्यवस्थित गर्न लागिपरेका छौं ।’ केही दिन यता मात्रै ध्वनि प्रदूषण गरेको भन्दै विरोध गरेपछि महोत्तरीको औरही नगरपालिकामा दुई पक्षबीच झडप हुँदा एक दर्जन व्यक्ति घाइतेसमेत भएका थिए ।