अपडेट 
२०७९ फाल्गुन १२, शुक्रबार ०७:३०

चुरे तथा वनजंगल संरक्षण अभियानले विभिन्न मागहरु अघि सार्दै जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ ।

अभियानले खोला उत्खनन्को विरोध गर्दा हत्या गरिएका युवा दिलीप महतोलाई पर्यावरणीय शहीद घोषणा गर्नुपर्ने, अवैध क्रसर उद्योगहरु तत्काल बन्द गर्नुपर्ने , विगतमा मधेश सरकारले गरेको ७ बुँदे सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने, भूमिहीन तथा सुकुम्बासीको आवासको व्यवस्था गर्नुपर्ने, वैदेशिक रोजगार सम्बन्धी समस्या हल गर्नुपर्नेलगायतका माग गर्दै बिहीबार प्रदर्शन गरेको छ । जनकपुरधामको विद्यापतिचोकबाट सुरु भएको अभियानको नगरको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ गर्न पुगेको थियो । सो क्रममा प्रहरीले आन्दोलनकारीहरुलाई कार्यालय परिसरमा प्रवेश नदिएपछि उनीहरु कार्यालय अगाडिको सडकमै धर्ना बस्दै नाराबाजी गरेका थिए । चुरे र वन संरक्षण समेतको माग गर्दै संयौको संख्यामा रहेका आन्दोलनकारीहरुले यस अघि मुख्यमन्त्री कार्यालयको समेत घेराउ गरेका थिए । बाटोमै प्रहरीले रोकेपछि फर्केर उनीहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए । आन्दोलनलाई निरन्तरता दिँदै उनीहरुले क्याम्पसचोक नजिक चौबीस घण्टे धर्नासमेत सुरु गरेका छन् ।

अभियानका अभियन्ता सुनिल कुमार यादवले पटक– पटक आन्दोलन गर्दा पनि माग पूरा नभएकाले बाध्य भएर धर्ना सुरु गरेको बताए । मागप्रति संघ प्रदेश र स्थानीय तथा सम्बन्धित निकाय उदासीन रहेकाले अब आन्दोलन निष्कर्षमा नपुगेसम्म नरोकिने अभियानका अभियन्ता यादवले बताए । यता आन्दोलनकारीहरुको मागबारे आफूले सम्बन्धित निकायमा जानकारी गराउने आश्वासन धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले दिए । उनले चुरे संरक्षणको लागि अभियन्ताहरुले गाउँ गाउँमा गएर जनचेतनामूलक कार्यक्रमको आयोजना गर्नु पर्ने सुझावसमेत दिएका थिए ।

Comment


Related News

Latest News

Trending News