
जनकपुर साहित्य महोत्सवमा जातीय द्वेष फैलाउने प्रयास गरिएको छ । जानकी मन्दिर परिसरमा बुधबारदेखि जारी तीन दिवसीय साहित्य महोत्सवमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा आयोजक मनिष झाले सार्वजनिक मञ्चबाट जातीय द्वेष फैलाउने अभिव्यक्ति दिएका छन् ।
उनले आफ्नो जात अर्कै भएका कारण जनकपुरधाम उपमहानगरपालिकाका तत्कालीन नगर प्रमुखले साहित्य महोत्सवको तेस्रो संस्करणमा सहयोग नगरेको भनाइ राखे । उपमहानगरका तत्कालीन नगर प्रमुख लालकिशोर साह रहेका थिए । उनले पर्यटन , सांस्कृतिक शीर्षकमा ५ लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । तीनै तहको सरकारबाट अहिलेसम्म कुनै सहयोग नपाएको उनले गुनासो गरे । प्रदेश सरकारको मुख्यमन्त्रीले रातो किताबमा राखी दिने आश्वासन दिए पनि महोत्सवको लागि बजेट नछुट् याइदिएकोप्रति उनले दुखेसो पोखे । ‘तत्कालीन नगर प्रमुखले पनि रातो किताबमा बजेट विनियोजन गरिएको थियो । तर हामीले त्यो पैसा पाएनौं,’उनले भने,‘तत्कालीन नगर प्रमुखको हामीमाथि आरोप थियो ‘ वहाँसँग हाम्रो जात मिल्दैन् ।’ प्रदेश सरकारलाई साहित्य महोत्सवमा सहभागी गराइएको छैन् । उद्घाटन समारोहमा समेत मधेश प्रदेशको प्रतिनिधित्व भएको देखिएन् ।
आयोजक झा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट समानुपातिक सांसद हुन् । सो पार्टीले प्रदेशको विरोध गर्दै प्रदेशसभाका उम्मेदवारलाई मतदानसमेत गरेको थिएनन् । उनले महोत्सवमा आफ्नो जातको मान्छे देखेर डराउने गरेको प्रसंग पनि उल्लेख गरेका थिए ।‘मैले महोत्सवमा अतिथिलाई बोलाउँदै गर्दा मलाई मेरो थर देखेर झनै डर लाग्छ । मान्छेले आफ्नो जातलाई ‘प्रमोट’ गर्नका लागि महोत्सव गर्न लाग्दै छ कि भन्छन्,’उनले भने,‘अनि म आयोजकलाई भन्ने गर्छु, मेरा जातको धेरै मान्छे नबोलाई देउन । पूर्व मेयरले त मेरो जात न मिलेको कारण पैसै नदिएको कुरा पुनः दोहो¥याए । जातीय द्वन्द्व, राजनीतिक कलह र विभिन्न किसिमको अन्योलमा फँस्दै जाने क्रममा मन्थनको कुरामा जनकपुरपछि परेको कारण धेरै चुनौतीको सामना गर्दै महोत्सव सुरु गरेको उनले सुनाए ।
प्रतिनिधिसभा सदस्य झाको अभिव्यक्तिपछि बोलेका नेकपा एमालेका युवा प्रदेश सभासदस्य दीपेन्द्र ठाकुरले जनकपुरधाममा जातीय विभेद नरहेको प्रष्ट् याए ।‘ धनुषाको निर्वाचन क्षेत्र नं. ३ को ‘ख’ मा मेरो जातिको ३ हजार जति मात्र मतदाता रहेका छन् ’ उनले भने, तर मैले यस क्षेत्रबाट चुनाव जित्नु जातीय विद्वेष नरहेको प्रष्ट हुन्छ । उनले जातीय द्वेषपूर्ण अभिव्यक्ति दिएको कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादव प्रमुख अतिथि थिए ।
कार्यक्रममा पूर्व राष्ट्रपति डा. यादवले जनकपुरको पोखरी, मठमन्दिर, संस्कृति र साहित्य जोगाउनुपर्नेमा जोड दिए । नयाँ पुस्तालाई सचेत गराउँदै चुरियाको अनियन्त्रित ढंगले दोहन भइरहेको बताए । ‘चुरे दोहनलाई कसरी बचाउने ? यसको जिम्मेवारी तीनै तहको सरकारसंगै हामीले लिनुपर्छ,’उनले भने,‘हामीले तीन खर्बको खाद्यान्न बाहिरबाट ल्याउँछौं । तर, जंगल, खेती योग्य जमिन र पानीको स्रोत सिध्याइरहेका छौं । नयाँ पुस्ताले त्यसलाई जोगाउने जिम्मा लिनुपर्छ ।’ राजनीतिक यात्रामा जनकपुरको योगदानलाई स्मरण गर्दै शिक्षा र स्वास्थ्यको अवस्था सुधार गर्नुपर्ने उनले बताए । ‘प्रत्येक बाटोमा स्वास्थ्य केन्द्र छ, तर स्वास्थ्य केन्द्र अगाडि त्यही राखिएको फोहरले हामीलाई गिज्याइरहेका छन्,’उनले भने,‘यहाँको शिक्षा पुनः राष्ट्रिय स्तरको बनाउनुपर्छ ।’
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल, डा.राजेन्द्र विमल , नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ, नेपाली काँग्रेसका सांसद प्रदीप पौडेल लगायतका वक्ताहरुले साहित्य र जनकपुरधामको विषयमा चर्चा गरेका थिए । कार्यक्रममा कलाकार ललित कामतलाई ‘अमित झा संगीत पुरस्कार’ प्रदान गरिएको थियो ।