
एमालेसहितको सत्तारुढ गठबन्धन ६१ दिनमा भत्किएसँगै संसदमा प्रतिनिधित्व गर्ने ८ राजनीतिक दलको बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति जुटेको छ ।
एमाले र नेकपा माओवादीलगायतका दलहरुबीच गत पुस १० गते भएको सहमतिलाई कार्यान्वयन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई दबाब दिएका थिए । एमालेका अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच भएको वार्तामा सहमति जुट्न नसके लगत्तै बसेको ८ दलको बैठकमा कांग्रेसलाई राष्ट्रपति दिनेमा सहमति जुटेको थियो । प्रधानमन्त्री प्रचण्डले ८ दलीय बैठकमा सत्ता गठबन्धन भत्किएको बताउँदै अब नयाँ ढंगबाट राजनीति अगाडि बढ्ने बताएका थिए ।‘ संसदमा सबैभन्दा ठूला दल रहेको कांग्रेसलाई राष्ट्रपति दिन प्रस्ताव प्रधानमन्त्री प्रचण्डले नै गरे’ सहभागी एकजना नेताले भने, उनको प्रस्तावलाई ८ वटै दलका नेताहरुले समर्थन गरे ।
प्रधानमन्त्री प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्रीको कार्यकालबारे सहमति जुटेपछि राष्ट्रपतिमा कांग्रेसलाई सघाउने सहमति भएको एकजना नेताले जनाए । उच्च स्रोतका अनुसार राष्ट्रपतिमा दाबी गरेका नेकपा एसका अध्यक्ष नेपाल प्रचण्डको साढे २ वर्षको कार्यकालपछि १ वर्ष नेपाल प्रधानमन्त्री र त्यसपछि डेढ वर्ष शेरबहादुर देउवा प्रधानमन्त्री भएर चुनाव गराउने सहमति भएको छ । त्यो सहमतिपछि नेपालले राष्ट्रपतिको दाबी छाडेको स्रोतले जनाए । विपक्षमा रहेको कांग्रेसलाई समर्थन गर्न माओवादी केन्द्रसहितका ८ दल सहमत भएको नेकपा एसका नेता प्रकाश ज्वालाले बताए । ‘राष्ट्रपतिका सन्दर्भमा ८ दलको उपस्थितिमा नेपाली कांग्रेसलाई समर्थन गर्ने प्रस्ताव आएको थियो’ ज्वालाले भने, त्यसमा साझा उम्मेदवारका रूपमा सहयोग गर्ने टुङ्गो लाग्यो । लिखित निर्णय नभए भए पनि समझदारी बनेको उनले जनाए । कांग्रेसका तर्फबाट राष्ट्रपतिको उम्मेदवारबारे औपचारिक निर्णय सार्वजनिक नभएपनि वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार हुने पक्कापक्की रहेको छ ।
‘शनिबार बिहान कार्य सम्पादन समितिको बैठक पार्टी कार्यालयमा बस्ने तयारी छ ’ नेता प्रकाशशरण महतले भने, त्यही बैठकले राष्ट्रपतिको निर्णय गर्नेछ । राष्ट्रपति निर्वाचनको विषयमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पनि शुक्रबार छलफल भएको थियो । राष्ट्रपतिमा कांग्रेसलाई सत्तारूढ दलहरू माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले सघाउने भएका छन् । त्यस्तै विपक्षमा रहेका नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि साथ दिएका छन् । राजनीतिक दलहरूले शनिबार राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने गरी निर्वाचन आयोगले तालिका सार्वजनिक गरेको छ । बालुवाटारमा शुक्रबार बिहान कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरूबीच बैठक चलेको थियो ।
राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै नेकपा एमालेलाई समर्थन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हच्किएपछि एमालेले पनि एकीकृत समाजवादीका नेता नेपाललाई अघि सार्न खोजेको बताइएको थियो । ‘प्रधानमन्त्री प्रचण्डलाई सघाउने एमालेको निर्णय गलत साबित भएको छ ’ एमालेका एकजना नेताले भने, अब हामी सरकारबाट बाहिरिने तयारीमा लागेका छौं । प्रधानमन्त्री प्रचण्डले ८ दलीय गठबन्धन बने लगत्तै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्तागठबन्धन भंग भइसकेको बताएका छन् ।‘सत्ता गठबन्धनलाई प्रधानमन्त्री प्रचण्डले भंग गरेका छन्’ उनले भने, एमालेले शनिबार औपचारिक निर्णय सार्वजनिक गर्नेछ । सत्तासमीकरण फेरिएसँगै प्रदेश सरकारमा समेत तत्काल प्रभाव पर्नेछ । प्रदेश सरकारमा रहेको एमालेको स्थानमा अब कांग्रेसले लिने सम्भावना बढेको छ ।