अपडेट 
२०७९ फाल्गुन १३, शनिबार ०८:०८

मधेश प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले किसानहरुको मलखादको समस्या समाधान हुने बताएका छन् ।

शुक्रबार कृषि मन्त्रालय जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले आगामी आर्थिक वर्षदेखि प्रदेशका किसानहरुले अहिलेसम्म उपलब्ध हुने गरेको रासायनिक मलखादको मात्रा बढाएर डेढ गुणा बढी पु¥याइने भएकोले किसानहरुले राहत पाउने बताए । एक महिने कामकाजको प्रगति विवरण प्रस्तुत गर्दै उनले भने,‘ मधेश प्रदेशमा कृषकका लागि कम्तीमा वार्षिक ३ लाख मेट्रिक टन मलखादको आवश्यकता रहेकोमा १ लाख मेट्रिक टन मात्रै पाउने गरेकोले जुन समस्या थियो आगामी आर्थिक वर्षदेखि कम्तीमा पनि साढे २ लाख मेट्रिक टन उपलब्ध गराइने छ ।’ संघीय कृषि मन्त्रालयको पहलमा सरकारले अहिले मलखादको साढे सैंतीस अर्बसम्म पु¥याइएको जानकारी दिँदै मन्त्री कुशवाहाले भने,‘ पहिलेसम्म प्रतिवर्ष मलखादको लागि १५ अर्ब रुपैयाँ बजेट छुट्याएको थियो त्यसैले रासायनिक मलको जहिले पनि अभाव देखिन्थ्यो तर अब त्यो समस्या समाधान हुने भएको छ ।’ ‘धानको सिजनमा जुन खाद डिलर हरुले जत्ति मलखाद पाउँथे अब त्यसको अढाई गुणा बढी पाउनेछन् ।

१ सय बोरा पाउँदै आएका डिलरले अढाई सय बोरा पाउनेछन्’,उनले स्पष्ट पारे । त्यसैगरी,उनले अझै अपुग रहेको पचास मेट्रिक टन पनि प्रदेशको बजेटबाट किन्नका लागि प्रक्रिया अगाडि बढाउन मुख्यमन्त्री सरोजकुमार यादव तथा मन्त्रिपरिषद्का साथीहरुसंग छलफल गरेको जानकारी उनले दिँदै आगामी एक महिना भित्र सोबारे प्रदेश सरकारको निर्णयसमेत आउने विश्वास व्यक्त गरे । मन्त्री कुशवाहाले रासायनिक मल खेतको लागि उपयुक्त मल नरहेको बताउँदै यस आर्थिक वर्षदेखि अर्गानिक फर्टिलाईजर ,बर्मी कम्पोष्टमा हामीले फोकस गरिरहेको जानकारी दिँदै भने,‘अर्गानिक मलका लागि अर्को आर्थिक वर्षमा अधिकत्म बजेट विनियोजन हुन्छ, मधेश प्रदेशलाई चाहिने तीन लाख मेट्रिक टनको कम्तीमा आधि अर्गेनिक मलखाद र बर्मी कम्पोष्टबाट पूरा गर्नुपर्छ भन्ने हाम्रो लक्ष्य छ र सोही अनुसार हाम्रो कार्यक्रम अगाडि बढेको छ ।’ मन्त्री कुशवाहाले अबको पाँच वर्षमा प्रदेशमा भएका नदीनालाहरुबाट हुनसक्ने सिँचाइलाई प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाइने जानकारी दिए ।

उनले किसान कार्डका लागि दर्ता प्रक्रिया सुरु गरिसकेको र कृषि मिटरका लागि पनि निःशुल्क गर्न छलफल सुरु भइसकेको बताए ।

Comment

Related News