अपडेट 
२०७९ फाल्गुन १३, शनिबार ०८:१३

नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्र मौलापुर रौतहटका कर्मचारीले कार्यालयको अत्यावश्यक सेवा वाहेक सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरी आन्दोलनमा उत्रेका छन् ।

आम जनता पार्टीका नेता प्रभु साह निकटका व्यक्तिहरुको समूहले कार्यालय परिसरमै पसेर फागुन ५ गते गुण्डागर्दी गर्दै कर्मचारीहरुमाथि हातपात समेत गरेको विरोधमा कर्मचारीहरुले कार्यालय बन्द गरेको छ । घटना भएको एक साता वितिसक्दा पनि प्रहरी–प्रशासनले घटनाका दोषीमाथि कारबाही गर्न कुनै चासो नदिएको भन्दै केन्द्रले सूचना जारी गरेरै कार्यालयको सेवा बन्द गरेको जनाएको छ । कार्यालयले शुक्रबार सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चितकालका लागि बन्द गरिएको जनाएको छ । शुक्रबार (फागुन ५ गते) बिहान करिब पौने दश बजेको समयमा त्रिभुवन भनिने अमर साह र धीरज पाण्डेको नेतृत्वमा रहेको करिब तीन दर्जन व्यक्तिको समूहले वितरण केन्द्रमा अनाधिकृत रुपमा प्रवेश गरेको थियो ।

त्यो समूहले कार्यालयका सहायक इन्जिनियर महेन्द्र चौधरीलाई अनाधिकृत तरिकाले बिना मिटर डाइरेक्ट (हुकिंग) लाइन जडान गर्न दबाब दिएको जारी सूचनामा उल्लेख रहेको छ । अनाधिकृत काम गर्न नमान्दा कर्मचारीलाई कुटपिट तथा गालीगलौज गर्दै अपहरण शैलीमा जवर्जस्ती गाडीमा लगेर हुकिङ लाइन जडान गराएको थियो । यो घटनामा संलग्न व्यक्तिहरुलाई कारबाहीका लागि प्राधिकरणको स्थानीय कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा किटानी जाहेरी दर्ता गर्न खोज्दा पनि भएको छैन र सो घटनामा संलग्न व्यक्तिहरुलाई कारबाही नभएसम्म यस कार्यालयबाट प्रवाह हुने अति आवश्यक सेवा बाहेक सबै सेवाहरु अनिश्चितकालका लागि बन्द रहने व्यहोरा जानकारी गराइन्छ भनि जारी गरिएको सूचनामा उल्लेख छ ।

Comment


Related News