
सप्तरीको सुरुंगा नगरपालिका–९ बेरबोनामा विद्युत सर्ट भएर बिहीबार राति आगालागी हुँदा आधा दर्जन घर खरानी भएको छ ।
आगालागीबाट १७ लाख ४५ हजार बराबरको सम्पत्ति जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार राति ९ बजे तिर सो वडा स्थित रामचन्द्र यादवको घरमा विद्युत सर्ट भइ सल्केको आगो तत्कालै नियन्त्रणको उपाय हुन नसक्दा छिमेकीका घरहरुसमेत गरी ६ घरलाई खरानी बनाएको छ । आगालागीले रामचन्द्रका साथै छिमेकी परीक्षण यादव,रामकिशुन यादव,चन्द्रदेव यादव,बलराम यादव र रामवृक्ष यादवको घर पनि जलेर नष्ट भएको छ । ती सबै फुसको संरचना भएका घरहरु भएको प्रहरीको भनाइ छ । आगोले अर्का छिमेकी बैजनाथ यादवको घर जोगाउन सकिए पनि बरण्डामा राखिएको उनको २५ हजार मूल्य बराबरको खाद्यान्न भने जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले बताए ।

आगालागीबाट बलराम यादवको ५ लाख ६५ हजार, परीक्षण यादवको ३ लाख २२ हजार, राम किशुन यादवको २ लाख ६१ हजार, चन्द्र देव यादवको २ लाख ५४ हजार, रामवृक्ष यादवको ३० हजार तथा बैजनाथ यादवको २५ हजार मूल्य बराबरको सम्पत्ति जलेर नष्ट भएको उनले बताए । स्थानीयवासी, प्रहरी तथा शम्भुनाथ र लहान नगरपालिकाको बारुणयन्त्रको सहयोगले २ घण्टाको प्रयास पछि आगो नियन्त्रणमा आएको डिएसपी सिंहले जानकारी दिए । यस अघि बिहीबार दिउँसो पनि जिल्लाको बोदेबर्साईन नगरपालिका–१० खडकपुरमा विद्युत सर्ट भइ आगलागी हुँदा ४ घर खरानी भइ १७ लाख भन्दा बढीको क्षति भएको थियो ।