२०७९ फाल्गुन १३, शनिबार ११:२५

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ।

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको शनिबार बसेको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। उनका अनुसार राप्रपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिनेछ।

‘परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजदेखि सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेका छौं’, बैठकपछि उनले भने। साथै, प्रदेश सरकारमा पनि राप्रपाको यसै बमोजिमको दृष्टिकोण रहेकाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रदेश सरकारबाट समेत बाहिरिने निर्णय गरिएको उनले बताए।

सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुनः सत्ता केन्द्रित अस्थिरता तर्फ धकेलिएको निष्कर्ष पनि निकालेको छ। हाल देखिएको सत्ता परिवर्तनको यो प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनामा निहित अस्थिरताको स्वभाविक चरित्र भएको राप्रपाको ठहर छ।

Comment


Related News

Latest News

Trending News