अपडेट 
२०७९ फाल्गुन १३, शनिबार ११:३४

नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकमा पार्टी सभापति शेर बहादुर देउवाले पौडेलको नाम प्रस्ताव गर्नुभएको थियो । नेपालको संविधानको रक्षा र गणतन्त्रको सुदृढिकरणका लागि कांग्रेसको उम्मेद्वारलाई बिजयी गराउन सवै दललाई अनुरोध गरेको छ भने बैंशाख १० गते हुने चितवन–२ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गर्ने उम्मेद्वारलाई औपचारिक पत्र दिने जिम्मेवारी पार्टी सभापतिलाई दिने निर्णय भएको प्रवक्ता महतले बताउनुभयो ।

त्यस्तै कांग्रेस बरिष्ठ नेता पौडेलले संविधानलाई संस्थागत गर्नको निम्ति राष्ट्रपतिमा आफ्नो उम्मेदवारी रहेको जानकारी दिनुभयो । उहाले पार्टीले आफुलाई न्याय गरेको र पदको गरिमा कायम राख्ने जिकिर गर्नुभयो ।

त्यस्तै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रपतिमा आफू आकांक्षी भए पनि रामचन्द्र पौडेलका नाममा सर्वसम्मत निर्णय गरेको बताउनुभयो । पार्टीका तर्फबाट राष्ट्रपति उमेदवार बन्ने कुरामा एकमतले निर्णय गर्न आफुले समर्थन जनाएको उहाको भनाइ छ ।

दलहरुबीच भएको पछिल्लो सहमति अनुसार कांग्रेस–माओवादीसहित ८ दलीय गठबन्धन बनेको छ । जसअनुसार राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको थियो ।

Comment


Related News