अपडेट 
२०७९ फाल्गुन १५, सोमबार ०६:५९

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठले नेकपा एमाले सहमतिमा आउने संभावना अब नरहेको बताएका छन् ।

हुलाकी सडक अन्तर्गतको धनुषा र सिरहा जोड्ने कमला पुलको निरीक्षण गर्न आइतबार जनकपुरधाम आइपुगेका मन्त्री श्रेष्ठले विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै सो अभिव्यक्ति दिएका छन् । अहिलेको सरकारलाई विश्वासको मत दिने सन्दर्भमा प्रतिनिधिसभामा राम्रो वातावरण बनेको उल्लेख गर्दै उनले भने, ‘त्यसलाई सम्बोधन गर्ने प्रतिपक्षसहितलाई सम्बोधन गर्दै ‘हेड अफ दि स्टेट’ को चयन गरौं भन्ने हाम्रो सोच हो तर नेकपा एमालेले त्यसरी सोच्न सकेन ।’ प्रमुख प्रतिपक्षी दललाई समेत सम्बोधन गरेर राष्ट्रिय सहमति कायम गर्ने कुरो हाम्रो पार्टीले र पार्टीको तर्फबाट प्रधानमन्त्रीले पनि पटक–पटक बताउँदै आउनु भएको जिकिरगर्दै उनले भने, नेकपा एमालेले त्यसरी नसोच्दा दुःख लागेको छ । एमालेकै कारण राष्ट्रिय सहमति नहुने अवस्था सृजना भएको उनले आरोप लगाए । ‘देशमा अहिले राष्ट्रिय सहमतिको आवश्यकता देखा प¥यो’ श्रेष्ठले भने, त्यसलाई पनि सम्बोधन गर्ने दृष्टिकोणबाट सहमति गर्ने हाम्रो चाहना एमालेको कारणले पूरा हुन सकेन । ‘आठ दलबीच सहमति भएको सबै कुरा बाहिर नआए पनि राप्रपा सरकारबाट फिर्ता भइसकेको छ’ उनले भने, नेकपा एमालेको प्रारम्भिक भनाइमा राष्ट्रपतिको निर्वाचनसम्म सरकारबाट समर्थन फिर्ता लिने वा सरकारमा बस्नेबारे निर्णय नगर्ने दोधारे स्थितिमा रहेको छ ।

एमालेका नेताहरु यस सम्बन्धी छलफल अगाडि बढाइराखेको बुझिएको बताउँदै उनले भने, ‘हामीहरुले पनि घटनाक्रमलाई हेर्नेछौं तर अहिलेको अवस्थामा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राप्रपा सरकारमा सहभागी नहुने सम्भावना प्रवल छ ।’ ‘नेकपा एमाले राष्ट्रपतिको चयन प्रक्रियामै सहमतिमा आएको भए सोही अनुसार अगाडिको प्रक्रिया अघि बढ्थ्यो’ श्रेष्ठले भने, त्यस्तो हुन नसकेकोले आगामी दिन राष्ट्रिय सहमति नहुने संकेत देखा परेको छ । देशमा अहिले मुख्य कार्यभार सामाजिक न्यायसहितको समृद्धिको रहेको र त्यो कार्यभार पूरा गर्नको निम्ति हामीले सम्पूर्ण ध्यान केन्द्रित गर्नु पर्ने आवश्यकता रहेको उनले औंल्याए । नेपालमा महत्वपूर्ण युगान्तकारी परिवर्तन भए पनि जनताले जुन विकास र समृद्धिको अपेक्षा गरेका थिए त्यस अनुसार गुणात्मक रुपले पूरा हुन नसकेको उनले बताए । त्यस्तै मन्त्री श्रेष्ठले धनुषा सिरहा जोड्ने कमला नदीको पुल निर्माणको कार्य तीव्र रुपमा अगाडि बढाइने बताएका छन् । उनले भने, ‘देशको सम्पूर्ण विकास आयोजनाहरुको हामी प्रगतिको समीक्षा गरिराखेका छौं र सोही क्रममा हुलाकी सडक अन्तर्गतको कमला पुलको निरीक्षणका लागि यहाँ आइपुगेका छौं ।’ प्राविधिक, ठेकेदार र विज्ञहरुलाई बोलाइएको छ । अब कामलाई तीव्रतापूर्वक अगाडि बढाइन्छ ।’ उनले प्रष्ट्याए ।

संविधान अनुसार तीन तहका सरकारहरुले विकास निर्माणको आ–आफ्ना जिम्मेवारी पूरा गर्नुपर्ने बताउँदै संघ सरकारबाटै सबै प्रकारको विकासको अपेक्षा गर्ने प्रवृत्तिलाई समाप्त पार्नु जरुरी रहेको उनको धारणा थियो ।

Comment


Related News