अपडेट 
२०७९ फाल्गुन १५, सोमबार ०७:००

परापूर्वकालदेखि हुँदै आएको मिथिला माध्यमिकी परिक्रमा सोमबार महोत्तरीको कञ्चनवनमा पुग्ने भएको छ ।

यस अघि आइतबार डोलासहितका परिक्रमा यात्रीहरुले ध्रुवकुण्डमा रात्रि विश्राम गरेका थिए । सोमबार कञ्चनवनमा होली उत्सवको आयोजना गरिने छ । त्रेता युगमा भगवान राम र सीताले कञ्चनवनमै होली खेलेको सम्झनामा परिक्रमाको आठौं दिन प्रत्येक वर्ष कञ्चनवन पुगेपछि होली उत्सव मनाउने परम्परा रहीआएको छ । सोही परम्परा अनुसार यस वर्ष पनि होली उत्सव मनाइने सुन्दर सदनका महन्त नवल किशोर शरणले जानकारी दिए । उनले भने,‘किशोरीजी र रामजीले यही होली खेलेको मान्यता अनुसार आज पनि होली मनाइने गरिएको छ र सोको लागि सम्पूर्ण तयारी भइसकेको छ।’ होली खेलेको धार्मिक विश्वाससहित परिक्रमा एक अर्कालाई रंग अबिर लगाई होली खेल्न परम्परा बनेको छ । कञ्चनवनमा होली खेलेसंगै मिथिलाञ्चलमा होली पर्व विधिवत् सुरु भएको मानिन्छ । १ सय २८ किलोमिटर दूरीको विभिन्न १४ धार्मिकस्थलको दर्शन गर्दै गरिने १५ दिने माध्यमिकी परिक्रमा धनुषाको ठेरा कचुरीस्थित मिथिला बिहारीस्थानबाट सुरु भइ हनुमानगढी हुँदै भारत बिहारको कल्याणेश्वरबाट औपचारिक रुपमा सुरुवात भएको थियो ।

त्रेता युगमा राम र सीताको विवाहपछि ती जोडीले मिथिलामा हुँदा विहार (भ्रमण) गरेका देवस्थल, राजा जनकको राज्यका चारै कोणमा अवस्थित शिवालय, उनको कुलदेवी, माता सीताको फूलबारी (जहाँ राम र सीताको पहिलो भेट भयो), राम र सीताले नित्य होली खेल्ने स्थल कञ्चनवन, उनको विवाहमा मटकोरका लागि माटो उत्खनन भएको मटिहानीलगायतका मिथिलाधामभित्रका विभिन्न धार्मिक, पौराणिक र ऐतिहासिक स्थलहरूको परिक्रमा गर्दै माध्यमिकी परिक्रमा गरेका थिए । सोही मान्यता अनुसार प्रत्येक वर्ष परिक्रमा यात्रा हुने गरेको छ । जुन यात्रामा सयौंको संख्यामा भक्तजनहरु सहभागी हुने गरेका छन् । कञ्चवनपछि परिक्रमा यात्रा मंगलबार पर्वता, सत्तोषर, औरही र विशौल हुँद फागुन चतुर्दशीको दिन विशौलबाट परिक्रमा जनकपुर फर्किनेछ । राजा जनकको राज्यको मध्यभागको परिक्रमा गरेर फर्केका परिक्रमायात्रीले जनकपुर पुगेर सम्पूर्ण फलको प्राप्ति गर्ने जनविश्वास रहेको छ ।

नेपाल तथा भारतका विभिन्न धार्मिक महत्व बोकेको स्थलहरूको भ्रमणले पुण्य प्राप्त हुने उद्देश्यका साथ सयौंको संख्यामा साधुसन्त तथा गृहस्तहरू परिक्रमा घुम्ने गरेको सुन्दर सदन तथा किशोरीजीको डोला प्रमुख महन्थ नवलकिशोर शरणको भनाइ छ । दुई देशबीचको आपसी मिलनको अभूतपूर्व सम्बन्ध स्थापित गर्न परिक्रमाकै मुख्य योगदान रहेको महन्त शरणको कथन छ मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा कञ्चनवन पुगेको छ । धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट सुरु भएको परिक्रमा आठौं दिन शनिबार महोत्तरीको भंगहा नगरपालिका–८ स्थित कञ्चनवन पुगेपछि होलि उत्सव मनाइएको छ ।

Comment

Related News