
मुस्लिम समुदायका बालबालिका अध्ययन गर्ने मदरसामा कार्यरत शिक्षकहरुलाई मनपरी ढंगले सरुवा गरेको आरोप लगाइएको छ ।
मदरसा समन्वय समिति सप्तरीले सो आरोप लगाउँदै आइतबार प्रमुख जिल्ला अधिकारी तथा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुखलाई ज्ञापनपत्र बुझाइ सो प्रकरणको छानबिन तथा त्रुटिपूर्ण निर्णय सच्याउन मागसमेत गरेको छ । समितिका उपाध्यक्ष मो. सबिर हुसैन खाँद्वारा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा तथा जिल्ला शिक्षा विकास समन्वय इकाइका प्रमुख राजदेव यादवलाई बुझाइएको ज्ञापनपत्रमा जिल्लामा संचालनमा रहेका धार्मिक प्रकृतिका मदरसामा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई दुःख दिने नियतले विभिन्न पालिकामा ऐन कानूनलाई मिचेर सरुवा गर्ने काम भइरहेकोतर्फ गम्भीर ध्यानाकर्षण गराइएको छ । यसैक्रममा,पछिल्लो पटक विष्णुपुर गाउँपालिका स्थित मदरसा फैजुल इस्लामियाँ थल्हीमा प्रधानाध्यापक पदमा कार्यरत मो. शाहजहाँलाई धार्मिक परम्परागत विद्यालय संचालन निर्देशिका २०७९ तथा शिक्षा ऐन नियमावली विपरीत गाउँपालिका कार्यालयले सरुवा गरेको र सोको छानबिन हुनुपर्ने ज्ञापनपत्रमार्फत माग गरिएको छ ।
सरुवा गरिएका प्रधानाध्यापक मो. शाहजहाँको ठाउँमा अर्का विद्यालयका प्रधानाध्यापक रामचन्द्र यादवलाई नयाँ जिम्मेवारीमा ल्याइएको उल्लेख गर्दै ज्ञापनपत्रमा यस्ता गतिविधिले मदरसा शिक्षाको शैक्षिक अवस्थामा हस आउनुका साथै वर्षौदेखि कायम रहेको सामाजिक सद्भावसमेत बिग्रिनसक्नेतर्फ सचेत गराइएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी थापा र जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ समितिका प्रमुख यादवले सो बारे आवश्यक छानबिन गर्ने आश्वासन दिएको समितिले जनाएको छ ।