अपडेट 
२०७९ फाल्गुन १५, सोमबार ०७:४३

राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई जिताउन ८ दलले प्रदेशगत रुपमा प्रचार गर्ने निर्णय गरेको छ ।

८ दलको आइतबार बसेको बैठकले सातै प्रदेशमा निर्वाचन लक्षित कार्यक्रम गर्ने निर्णय गरेको छ । राष्ट्रपति निर्वाचनको मनोनयनको लागि अघिल्लो दिन बनेको आठ दलीय गठबन्धनको आइतबारको बैठकले गठबन्धनमा आबद्ध सबै दलका सबै सांसदहरूलाई फागुन २३ भित्र काठमाण्डु आउन निर्देशन दिएको संगै राष्ट्रपतिको निर्वाचनका लागि उनीहरूलाई काठमाण्डु बोलाउने निर्णय भएको जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । त्यसैगरी, बैठकले आठ दलका एक÷एक जना प्रतिनिधि रहने गरी एक कार्यदल बनाउने र त्यसले पार्टीभित्र र अन्तर पार्टी छलफल गर्ने निर्णय पनि गरेको छ । बैठकले फागुन १८ गते संघीय सांसदलाई अभिमुखीकरण दिने र १९ गते सातै प्रदेशमा निर्वाचन लक्षित कार्यक्रम गर्ने निर्णय गरेको छ ।

ती कार्यक्रममा गठबन्धन दलका नेताहरू सहभागी हुनेछन् । बैठकले संघ तथा प्रदेशसभाका सांसदहरूलाई फागुन २३ गते सम्म काठमाण्डु आइसक्न निर्देशन दिएको छ । २४ गते सबै सांसदलाई काठमाण्डुमा ब्रिफिङ गरिने र रामचन्द्र पौडेललाई मत दिन भनिने नेता श्रेष्ठले जानकारी दिए । ब्रिफिङमा सांसदहरूलाई नयाँ समीकरणको आवश्यकता, संविधानको रक्षा, प्राप्त उपलब्धि बचाउन नयाँ गठबन्धन आवश्यक भएकोबारे स्पष्ट पार्ने र जनतामा छरिएको अस्थिरता बारेको भ्रम हटाउन प्रयास गर्ने गठबन्धनले पहल गर्नेछ । साथै बैठकले सबै दललाई राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्न आह्वान पनि गरेको छ ।

Comment


Related News

Latest News

Trending News