अपडेट 
२०७९ फाल्गुन १६, मंगलवार ०७:४२

विभिन्न माग अघि सार्दै चुरे तथा वन जंगल संरक्षण अभियानका अभियानीहरुले थालेको रिले अनशन सोमबार पनि जारी रहेको छ ।

अभियानीहरुले जनकपुरधाम उपमहानगरपालिकाको जनकचोकस्थित जनक मन्दिरको परिसरमा बिहीबार (फागुन ११) देखि रिले अनशन सुरु गरेका छन् । अनशन सुरु भएको लामो समय वितिसक्दा पनि सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण हुन नसकेको गुनासो अभियानका राष्ट्रिय अध्यक्ष सुनिल कुमार यादवले गुनासो पोखे । अभियानीहरुले अवैध क्रसर उद्योगहरु बन्द गरी चुरे संरक्षण गर्नुपर्ने,भूमिहीनलाई यथाशीघ्र जग्गा उपलब्ध गराउनुपर्ने र एलानी जग्गामा बसोवास गर्दै आएकाको जग्गाको लालपूर्जा बनाउनुपर्नेलगायतका माग अघि सारेका छन् । रिले अनशन अघि अभियानले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यालय,प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।

त्यसअघि जनकपुरधाममा विरोध प्रदर्शन,सडकमै धर्ना प्रदर्शनसमेत गर्दा पनि सरकारले कुनै सुनुवाई नगरेपछि रिले अनशन सुरु गरिएको अध्यक्ष यादवले बताए । उनले भने,‘तत्कालीन लालबाबु राउत नेतृत्वको सरकारले अभियानसंग सात बुंदे सम्झौता पनि कार्यान्वयन भएको छैन।’ प्रदेशभरिमा एक लाख भन्दा बढी भूमिहीन नागरिकहरु रहेको बताउँदै सरकारले तत्काल उनीहरुको गणना गरी समस्याको समाधान गर्नुपर्ने मागसमेत उनले अघि सारे ।

Comment

Related News