अपडेट 
२०७९ फाल्गुन १६, मंगलवार ०८:०४

मिथिला मध्यमिकी परिक्रमा यात्राको सोमबार आठौं कञ्चनवनमा होली उत्सव मनाइएको छ । धनुषाको कचुरी स्थित मिथिला बिहारी मन्दिरबाट सुरु भएको परिक्रमा आठौं दिन सोमबार महोत्तरीको भंगहा नगरपालिका–८ स्थित कञ्चनवन पुगेपछि होली उत्सव मनाइएको छ ।

त्रेतायुगमा भगवान राम र सीताले कञ्चनवनमै होली खेलेको स्मरणमा प्रत्येक वर्ष परिक्रमा यात्री कञ्चनवन पुगेपछि होली उत्सव मनाइन्छ । सोही अनुसार यस वर्ष पनि भंगहा नगरपालिकाका मेयर संजीव कुमार साहको आयोजना एवम् सुन्दर सदनका महन्त नवलकिशोर शरणको सक्रियतामा होली उत्सव मनाइएको छ । भजन किर्तन गर्दै मैथिली लोक गीतको धुनमा साधुसन्तसहितका यात्रीहरुले नाच्दै गाउँदै एक अर्कामाथि अबिर र रंग छर्केर होली मनाएका छन् ।

उत्सवमा धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल,महोत्तरीका सुरक्षा निकायका प्रतिनिधिहरुसहितका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । आजकै दिनदेखि मिथिलाञ्चलमा होली पर्व सुरु हुने जनविश्वास समेत रहेको छ । परापूर्व कालदेखि हुँदै आएको १५ दिने माध्यमिकी परिक्रमा सोमबार कञ्चनवन पुगेको छभने रात्रि विश्राम त्यहीँ हुनेछ । मिथिला मध्यमिकी परिक्रमाको क्रममा नेपालको १०७ किलोमिटर र भारतको २६ गरी १३३ किलोमिटर धार्मिक एवम् ऐतिहासिक स्थलको पदयात्रा गर्ने गर्छन्।

यस्तै, मंगलबार परिक्रमा यात्रा धुनषाको पर्वतामा विश्राम गर्नेछन् । त्यसपछि धनुषाधाम, औरही, विशौलहुँदै पुनः भारतको कल्याणेश्वर र फागुन पुर्णिमाको दिन जनकपुर फर्कनेछ । नेपाल भारत दुबै मुलुकको धार्मिक सांस्कृतिक एवम् पारम्परिक सद् भावका प्रतीक बनेको परिक्रमा यात्राको नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल छन् । यस यात्राका सहयात्रीले नेपालका १ सय २ एवम् भारतको २६ गरी १ सय २८ किलोमिटर भूमिका पैदलयात्रा तय गर्ने परम्परा रहेको छ । परिक्रमामा भारतको आयोध्या,मथुरा,हरिद्वार, दरभङ्गा, सितामढी, बैजनाथधामका साधुहरू उल्लेख्य रुपमा सहभागी रहेका छन् । फागुन शुक्ल प्रतिपदाको शुभसाइतबाट प्रारम्भ हुने यो धर्मयात्रा १५ दिनभित्र जनकपुर पुगी होली खेलेर फागुन पूर्णिमा तिथि पारी समापन गरिने परम्परा छ ।

Comment


Related News

Latest News

Trending News