
भौतिक पूर्वाधार तथा यातायात एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले हुलाकी राजमार्ग अन्तर्गत रहेको धनुषा–सिरहा जोड्ने कमला पुलको निर्माण कार्य दुई साताभित्रै सुरु हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सोमबार भासिएको पुलको निरीक्षण गर्न आएका मन्त्री श्रेष्ठले भने, ‘दुई साताभित्र निर्माण सुरु हुन्छ नयाँ डिजाइन बनाउन समय लागेकाले निर्माणमा ढिलाइ भएको छ तर अब यथाशीघ्र निर्माण कार्य सुरु हुनेछ ।’ मन्त्री श्रेष्ठ मन्त्रालयका सचिव, निर्माण कम्पनी, हुलाकी सडक आयोजनाका अधिकारी र प्राविधिकहरुसँगै लिएर पुलको निरीक्षण गरेका थिए । पुल भासिएको लामो समयसम्म कमला नदीमा २०६८ सालमा पुल निर्माण सुरु भएको थियो । पप्पु कन्स्ट्रक्सनले ४२ महिनाभित्रै सक्ने गरी २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का पाएको थियो । उसले सात वर्षमा पनि पुल निर्माण पूरा गर्न नसकेपछि हुलाकी राजमार्ग सडक निर्देशनालयले पप्पु कन्सट्रक्सनसँगको ठेक्का खारेज गरेको थियो । त्यसपछि २०७८ असार १३ गते ४ सय ७० मिटर लामो पुल निर्माण सक्नेगरी लुम्बिनी बिल्डर्सलाई ठेक्का दिइएको थियो । केही बाँकी काम सकेर साउन २०७८ मा उद्घाटनको तयारी गरिएको थियो तर उद्घाटन हुनु अगाडि नै अविरल वर्षासँगै आएको बाढीले पुल भत्केको थियो ।
कमला नदीमा पुल नहुँदा सिरहाबाट जनकपुरधाम तथा धनुषाकै नागरिकहरुले सदरमुकाम जनकपुरधाम पुग्न तीन घण्टा भन्दा बढीको समय लाग्ने गरेको छ । पुल भत्केपछि त्यहाँ बनाइएको कच्ची पुलमा आरपार गर्ने व्यक्तिहरुले प्रति व्यक्ति २५ रुपियाँको दरले तिर्नुपर्ने बाध्यता रहेको छ । मधेशको लाइफलाइन मानिएको हुलाकी सडक अन्तर्गतको यो पुल निर्माण यथाशीघ्र हुनु पर्ने भन्दै विभिन्न समयमा आन्दोलन हुँदै आएको छ ।