अपडेट 
२०७९ फाल्गुन १७, बुधबार ०७:२१

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले देशको राजनीति सकारात्मक दिशामा अगाडि बढिरहेको बताका छन् ।

जनकपुरधाममा मंगलबार आयोजित नेपाल प्रेस युनियन मधेश प्रदेश कार्यसमितिका पदाधिकारी एवम् पदस्थापना समारोहमा बोल्दै नेता निधिले सो दाबी गरेका छन् । प्रधानमन्त्री पुष्प कमल दाहाल‘ प्रचण्ड’ले ३० दिन भित्र विश्वासको मत लिनु पर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले चाहेको बखत विश्वासको मत प्राप्त गर्ने विश्वास व्यक्त गरे । उनले भने,‘नेपाली कांग्रेसले विश्वासको मत पहिला नै दिइसकेको अवस्था छ भने आठ÷नौ दलले पनि विश्वासको मत दिने निश्चित छ । त्यसैले सरकारमाथि कुनै खतरा छैन।’ नेकपा एमाले र राष्ट्रिय प्रजतन्त्र पार्टीले समर्थन फिर्ता लिँदैमा उहाँहरुको ढोक्सामा माछा नपर्ने टिप्पणी गर्दै उनले भने,‘नेपाली कांग्रेस र सत्ताधारी प्रधानमन्त्रीको पार्टी बाहेक कसैको ढोक्सामा माछा पर्ने छैन ।’ राजनीतिक अवस्था रमाइलो रहे पनि सकारात्मक दिशामा रहकोले सरकारमाथि कुनै खतरा नरहेको उनले बताए ।

नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकार र माओवादी केन्द्रसहितको पाँचदलीय गठबन्धनसंग चुनावी तालमेल भएर निर्वाचन सम्पन्न भइ नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टीको रुपमा स्थापित भएको बताउँदै उनले भने,‘निर्वाचनपछि सरकार निर्माणको सन्दर्भमा त्यो नै चुनावी बेलामा भएको गठबन्धनले निरन्तरता पाउन सकेको थिएन । त्यसको परिणामस्वरुप लोकतन्त्रवादी जमातमा निराशा छाएको थियो । ठूलो निराशा मात्र होइन, पश्चताप पनि भएको थियो । तर नेपाली कांग्रेसले यसको कोर्स करेक्शन गरेको छ । म यसलाई कोर्स करेक्शन भन्छु ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेसले विश्वासको मत दिएपछि कोर्स करेक्शन प्रारम्भ भएको उनको ठहर छ । कोर्स करेक्शनले परिणामूलक दिशामा नेपालको राजनीतिलाई अगाडि बढाइरहेको उल्लेख गर्दै नेता निधिले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति बनाउने विषयमा मुख्य बाधक एमाले रहेको आरोप लगाए ।

राष्ट्रपतिको निर्वाचनको लागि नेकां,प्रधानमन्त्रीको पार्टी माओवादी केन्द्र तथा अन्य दलहरुसंग पनि वार्ता गरेर सहमतिको प्रयास गरिए पनि नेकपा एमालेको कारण सहमति हुन नसकेको उनले बताए । एमालेले राष्ट्रिय सहमति नरुचाए तापनि सहमतिको बाटोमा अगाडि बढेको र आठ वटै दलले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति भएको जानकारी दिए । आठ दलको समर्थन क्रमिक रुपमा अगाडि बढ्दै नौ र दश दलमा पुगेकोले सहमतिको कोर्स करेक्शन सही दिशामा गइरहेको उल्लेख गर्दै उनले भने,‘ राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रस्तुत गरिएको माओवादी केन्द्रबाट समर्थन गरिएको र संगसंगै आठ नौ वटा दलबाट समर्थन गरिएको उम्मेदवार पौडेलको जित निश्चित छ ।’ मतभारको अनुमानसमेत भइसकेकोले नेता पौडेल नै राष्ट्रपति बन्ने निश्चित रहेको उनले दाबी गरे । उनले पौडेलको पक्षमा सातै प्रदेशका साँसदहरुलाईसमेत मतदान गर्न आग्रह गरे ।

सहमतिमा आउने दलहरुको संख्या क्रमिक रुपमा बढिरहेको बताउँदै उनले नेपाली कांग्रेसले सर्वसम्मतिबाट रामचन्द्र पौडेललाई पार्टीबाट राष्ट्रपतिको उम्मेदवारका लागि प्रस्तुत गर्ने निर्णय गरेको छ र आठबला दलले स्विकार गरेर समर्थन गरेको छ । त्यस्तै आमजनता पार्टीसहितकादलहरुको पनि समर्थन छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिएको छैन, त्यसैले पौडेल नै राष्ट्रपति बन्ने निश्चित रहेको छ।’

Comment


Related News

Latest News

Trending News