अपडेट 
२०७९ फाल्गुन १७, बुधबार ०७:४६

फागुन महिनाको आफ्नै चिनारी हुन्छ । फागुनमा वनस्पतिले सिंगार गरेको हुन्छ । अहिले रुखपातको रुप हेर्न लायक हुन्छ । जुनसुकै विरुवा होओस्, हेरिरहूँ जस्तो लाग्छ । झन् रुखमा कि त नयाँ पात पलाएको हुन्छ । नयाँ पातले रुखको सिंगार नै बदलेको हुन्छ । रुखको हाँगा हाँगामा नयाँ पालुवा आइरहेको हुन्छ । यदि फूल लाग्ने रुख छ भने अधिकांश रुखमा अहिले नै फूल लाग्दछ । अहिले आँपको रुखको रुप सबैले निहार्दछन् । सबैले आँपको रुखमा कि फूल अर्थात् मन्जरी जसलाई मोजर भन्दछन्, त्यो लागेको हेर्दछन् कि त मोजर नलागेको आँपको रुखमा हरिया मुनासहित कलश पलाएको हेर्दछन् । कलश पनि हेरिरहूँ लाग्छ भने आँपको मोजर देखेर त साँच्चिकै आँप धेरै फल्ने र नफल्ने पूर्वानुमान नै सर्वसाधारणले गर्न थाल्छन् । जहाँ रुख हुन्छ, त्यहाँ त्यसलाई फुलबारी वा बगैँचा भनिन्छ । फूलबारी वा बगैँचा हुनको लागि केही धेरै संख्यामा रुख हुनु जरुरी मानिन्छ ।

यदि बगैँचा नभएको ठाउँ र गाउँभन्दा अलिक पर छ भने त्यसलाई सर्वसाधारणले सरेह भन्ने गर्दछन् । फागुनमा सरेहको पनि आफ्नै सुन्दरता हुन्छ । फागुनमा करिब सबै खेतमा बाली लगाइएको हुन्छ । उखु काटेको वा काट्न बाँकी रहेको वा नयाँ उखु खेती लगाएको हुन्छ भने अन्य बाली करिब निश्चित हुन्छ । सरेहमा फागुनमा मुख्यतया मसुरो, तोरी, गहुँ र आलुको खेती पाइन्छ । अन्य दलहन तथा केही तरकारी खेती पनि पाइन्छ तर मसुरो र गहुँ खेती भने हेर्न लायकको हुन्छ । साँच्चिकै ठूलो सरेहमा खेतभरि हरियो मसुरो र हरियो गहुँ देख्दा परम आनन्दको अनुभूति हुन्छ । त्यसैमा झन् हल्का हावा चलेको अवस्थाले मनै लोभ्याउँछ । अहिलेको अवस्था भनेको यहीँ नै हो । हुन त अब फगुआ आउन थालेको छ । फगुआ निकट आइसकेको जस्तो सरेह देखिएको छैन । फगुआको समयमा मसुरो करिब पाक्न लागेको वा पाकेको हुनुपर्ने हो । गहुँको अवस्था पनि यही हुनुपर्ने हो । फगुआको समतको दिन गहुँ, चना, मसुरो, लहरीको काम लाग्ने गर्दछ । यसको अर्थको कि यी सबैमा निकै राम्रोसित दाना लागिसकेको हुनुपर्छ । दाना लागिसकेको र दाना पाक्न लागिसकेको हुन्छ ।

पाक्न अलिक बाँकी रहेको दानाको ओरहा बनाउँछन् । अहिले समतमा ओरहा बनाउनको लागि गहुँ र मसुरो, चना र लहरी खोज्नुपर्ने हुन्छ किनभने साधारणतया अझै तयार हुन सकेको छैन । तयार हुन नसकेकोले सरेह पूरै हरियो छ । कतिपय गहुँमा भर्खर बाला लाग्दैछन् र कतिपय गहुँको बाला लागिसकेको छ । सरेहमा गहुँ र मसुरो पाकिसकेका छैनन् । यसले यो संकेत गरेको छ कि तिथिले फगुआ अर्थात् होली आए पनि मौसम भने अझै अलिकति पछात छ अर्थात् मौसम अझै केही दिन पछाडि परेको छ । यसको अर्को उदाहरण पनि दिन सकिन्छ, सामान्यता होलीको समयमा जति जाडो हुनुपर्ने हो, त्यसभन्दा बढी जाडो अहिलेसम्म रहेको छ । यस विपरीत होलीको समयमा जति गर्मी हुनुपर्ने हो, त्यसभन्दा गर्मी निकै कम छ । अहिले पनि मानिसलाई दिउँसोको घाम मिठै लाग्ने गरेको छ र अहिले पनि राति मानिसले सिरक ओढ्ने गरेका छन् । सरेहमा फागुन आइसकेको छ तर फगुआ कतै सुनिँदैन ।

फगुआ भनेको होली हो र होलीको गीत पनि हो । होलीलाई त सर्वसाधारणले होरी भन्दछन् । होरी र फगुआ एउटै हुन्, पर्यायवाची हुन् । आजभोलिको मौसम र प्रकृति दुवैले फागुन रहेको र फागुनको सबै प्राकृतिक गुण देखाएको छ । दिउँसो न धेरै गर्मी छ र राति धेरै जाडो पनि छैन । एक हिसाबले दिउँसो र राति दुवैतिरको मौसम अत्यन्त अनुकूल छ । मौसम अनुकूल भएको समय फागुन हो र फागुनले वनस्पतिमा आफ्नो हैकम देखाइरहेको छ । यस अवस्थामा पनि मानवीय प्रकृतिले भने खासै फागुनको उत्साह देखाइरहेको छैन । मानवीय अन्तर्मनबाट निसृत हुनुपर्ने स्वाभाविक फागुनको उच्छवास अहिले कतै सरेहमा पनि सुन्न पाइँदैन । बाली र बनस्पतिले त आफ्नो रुप र सौन्दर्यको सिंगार गरेका छन्, प्रकृतिले पनि गर्मी आउँदै गरेको र जाडो जाँदै गरेको देखाइरहेको छ । विस्तारै दिन लामो हुँदै जानुपर्ने र रात छोटो हुँदै जानुपर्ने हो, यस्तो प्रगति भइरहेको छ । अब केही दिनमा नै दिन र रात करिब बराबरीको स्थितिमा आउला र त्यसपछि गर्मीको उखुम आउन थाल्ला । अहिले मौसमले म फागुन हुँ भन्ने सबै संकेत गरिरहेको छ तर मानिसको मनबाट किन फागुनको राग र ताप निस्किरहेको छैन ? सरेहले पनि बुझ्न सकिरहेको छैन । मसुरोको फूलले सुगन्ध छरेकै छ । तोरीको फूलले माहुरीलाई आकर्षित गरेकै छ ।

गहुँको झारमा हुने गमकले मानिसलाई लोभ्याएकै छ । लहरीको फूलमा अनेक किसिमका भमराले झुम्मिने अवसर पाएकै छन् । नयनभरि देखिने हरियाली सरेहले हृदयलाई लोभ्याउन छोडेको छैन । यदि लोभ्याउन छाडेको भए मानिसको हृदयमा तिनै फूलहरुलाई देखेर उत्साह भरिने थिएन । सरेहको सबै नैसर्गिक गुण र आकर्षण यथावत रहेकै छन् तर तिनै गुण र आकर्षणले मानिसको मनबाट किन फगुआ निकाल्न सकेको छैन ? किन आजभोलि यो उत्कर्षको मौसममा पनि फगुआको गीत गाएको सरेहले सुन्न पाइरहेको छैन ? प्रकृतिले कुनै कमी गरेको छैन तर मानिसले भने किन गाइरहेका छैनन् फगुआ गीत । फगुआ गीतमा आफ्नो भुनभुनाहटको संगीत दिन मौरीहरु सरेहतिर बरालिरहेका छन् । उदास भएर चराहरु फगुआको गीत खोजी गर्दै छन् । फगुआको गीत सुनेर कोइलीको कन्ठले पनि आफ्नो स्वाभाविक गान निकाल्ने हो । कोइलीको गायनलाई पनि किन मानिसले रोकिरहेका होलान् ? प्रकृतिले र वनस्पतिले सबैले आफ्नो धर्म निर्वाह गरिरहँदा कतै मानिसले आफ्नो प्राकृतिक धर्म वा यस महिनामा हुनुपर्ने सांस्कृतिक धर्म बिर्सिइसकेका त छैनन् ? यस्ता प्रश्नको उत्तर खोजी गर्ने कसले ? हो, अलिकति बढी मल र अलिकति बढी औषधि गहुँ र मसुरोमा दिइएका छन् ।

कीटनाशक औषधिले केही प्राकृतिक गुणलाई मारेको होला तर पनि वनस्पतिले आफ्नो धर्म बिर्सेको छैन । हो, समय केही बदलिएको छ । अहिले रेडियो र मोबाइलका साथै डिजे बाजाको प्रचलन बढेको छ । मानिसले आफ्नो मुखले त्यत्ति गाउन चाहँदैनन् । केही गाउन मन लाग्छ भने मोबाइलमा त्यहीँ धुन सुन्न थाल्दछन् । हो, गाउन मन लाग्दा गाउने मनलाई सुन्ने मनले प्रविधिको सहयोग लिएर मारिदिन्छ । यही कारणले मानिसले खासै गीत गाउन सकेका छैनन् तर सरेहमा त डिजे हुँदैन, मोबाइल चलाउन मन लाग्दैन र रेडियो सुन्न पनि मन लाग्दैन । सरेहले त आफ्नो सुन्दरतामा मानिसलाई लठ्याउन कम गरेको छैन तथा मानिस पनि सरेहको सुन्दरतामा रमाउन छाडेका छैनन् । मानिस र सरेहको सम्बन्ध जति प्रगाढ छ त्यत्तिकै गहिरो सम्बन्ध सरेह र सुन्दरताको रहेको छ । सुन्दरताले त आकर्षण क्षमता राख्दछ । सरेहमा आकर्षण क्षमता छ र त जो सुकै गएर पनि आनन्दित हुन थाल्दछन् । आनन्दित हुँदा हृदयको आवाज प्रस्फुटन हुन थाल्दछ तर दुर्भाग्य हृदयको आवाज शृंगार रसमा फगुआसित प्रस्फुटन हुन सकिरहेको छैन । साँच्चिकै मलिलो माटोमा उब्जेका हरिया गहुँ र मसुरोका आकर्षक फूलहरुले पनि मानिसको बन्जर मनलाई फगुआरुपी शृंगार रस दिन सकिरहेको छैन । यो सोचनीय विषय हो ।

सहरले त धेरै हदसम्म पुरातन संस्कृति र परम्परामा रहेका लोकगीतहरु बिर्सिइसकेको छ तर गाउँमा अझै केही आशा थियो । जसरी सहरको भीडभाडको विविध प्रकृति मूल सडकमा देख्न सकिन्छ, त्यसै गरी गाउँको मूल प्राकृतिक सुन्दरता भने सरेहमा र बाली लागेको मौसममा देख्न सकिन्छ । बाली लाग्दै गरेको यो मौसम साँच्च्किै अनुकूल छ तर फगुआ गीतहरु कतै गाएको वा गुन्जेको सुन्न पाइँदैन । बरु सहरमा तथा एफएम रेडियोहरुमा बरु गीत सुन्न पाइन्छ तर मानिसले स्वाभाविक रुपमा गाउने अर्थात् अन्तर्मनबाट स्वाभाविक रुपमा प्रस्फुटन हुने गीत भने सरेहमा सुन्न पाइँदैन जबकि घसबाहाहरु उसै गरी घाँस काटिरहेका छन्, चरबाहाहरु उसै गरी चराइरहेका छन् पशुधन । बाली लागिसकेपछि सरेहका नायक त घसबाहा र चरबाहालाई नै मानिन्छ तर यिनीहरु पनि मौन छन् । घसबाहा, चरबाहा, खेतबाहाको कन्ठबाट फगुआको गीत गुन्जिनु पर्ने हो, सरेह गुन्जिनुपर्ने हो । सरेहमा ज्यान आएको अनुभूति हुनुपर्ने हो तर सरेह मौन छ । अचम्मको तरिकाले फगुआ गीतविहीन सरेह बन्दा हरियाली तथा पुष्पित बिरुवासमेत उदास लाग्दछन् ।

मानौँ, बनस्पतिको शृंगार अहिले कोही देखिरहेका छैनन् वा कोही देख्ने नै छैन । सम्भवतः फागुनको वनस्पतिलाई पनि लागिरहेको होला कि मैले गरेको शृंगार कतै अधुरो छ कि ? असुहाउँदो छ कि ? तर हे सरेह, तिमी पूर्ण छौ । तिम्रो सुन्दरताको मूल्य अहिले मानिसले बुझ्न सकिरहेका छैनन्, तिमी पुरानै तरिकाले फगुआको गीत खोजिरहेका छौ तर मानिसको मन भने परिवर्तनशील छ, बदलिइसकेको छ । तिम्रो निराशालाई पढिरहेका छैनन्, तिम्रो उत्साहलाई बुझिरहेका छैनन्, तिम्रो लयलाई समातिरहेका छैनन् किनभने मानिसले विस्तारै आफूलाई बिर्सँदै गइरहेका छन् । मानिस आफू विस्तारै परिचयविहीन बनिरहेका छन् । अहिलेको मौसममा सरेहमा होलीको गीत सुन्न नपाउनु भनेको मानिसले आफूलाई अहिले बिर्सेको हो भन्न सकिन्छ । आफूलाई बिर्सेको वा हराएको मानिसले फगुआको खोजी कसरी गर्लान् ?

Comment


Related News