
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा शिक्षा र स्वास्थ्यमा जोड दिनुपर्ने बताएका छन् ।
रौतहटको गौरमा आयोजित विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले शिक्षा सुचकांकमा मधेश प्रदेश कमजोर रहेको र स्वास्थ्यमा पनि मधेश प्रदेश कमजोर रहेकाले शिक्षा र स्वास्थय क्षेत्रको सुधारमा जोड दिनुपर्ने बताए । उनले मधेश प्रदेशको ८ वटै जिल्लामा प्रादेशिक अस्पताल सञ्चालन गरिने जानकारी दिए । उनले शिक्षा क्षेत्रको विकासमा पनि प्रदेश सरकार सम्वेदनशील रहेको बताए । रौतहट जिल्लामा सवारी अनुमति पत्र सेवा विस्तारको शुभारम्भ गर्दै मुख्यमन्त्री यादवले मधेश प्रदेशको सबै जिल्लामा सवारी अनुमति पत्रको सेवा प्रवाह गर्ने नीति मधेश सरकारले लिएको जानकारी दिए । उनले भने– ‘सवारी सचालक अनुमति पत्रको सहजताको लागि प्रयास गरिरहेको छुँ । जनतालाई संघीयताको अनुभूति दिलाउन प्रदेश सरकार हरसम्भव प्रयासरत्त रहेको छ ।’ एक अर्को प्रसंगमा मुख्यमन्त्री यादवले विगतदेखि सबैको प्राथमिकतामा रहेका गौर राइस मिलको जग्गा अधिग्रहणको लागि आउने बजेटमा रकम विनियोजन गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।
सभामुख हुँदा १५ करोड़ रकम राइस मिलको जग्गा अधिग्रहणको लागि विनियोजन गरेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले अब गौरबासीको सपना साकार हुने समय आएको उल्लेख गरे । सिँचाईको व्यवस्थापनका लागि विशेष रणनीति बनाइरहेको बताउँदै मुख्य मन्त्री यादवले प्रत्येक जिल्लामा किटनाशक औषधि परीक्षणको लागि घुम्ती सेवा प्रवाह गरिने जनाए । त्यस्तै मुख्यमन्त्री यादवले गौरकोलागि लालबकैया र बागमती नदीको बाँधको विषयमा संघीय सरकार संग पहल गर्ने समेत विश्वास व्यक्त गरे । उनले प्रादेशिक अस्पताल गौरमा आईसीयू एक महिना भित्रमा सञ्चालन गराउने प्रतिबद्धता व्यक्त गरे । जनताको स्वास्थ्य संग खेलवाड़ गर्ने जो कोहीलाई छूट नहुने भएकोले चिकित्सकहरुले आफ्नो कर्तव्यपूर्ण रुपमा पालना गर्नु पर्ने बताए । उनले प्रदेश सरकार स्वास्थय क्षेत्रमा हुने गरेको अनियमितता विरुद्ध कारबाही गर्न पछि नपर्ने चेतावनी समेत दिए । सो अवसरमा मधेश प्रदेशका पूर्व राज्यमन्त्री योगेन्द्र राय यादवले रौतहट जिल्लाको सदरमुकाम गौर लगायत आसपासका क्षेत्र बाढी प्रभावित क्षेत्र भएकोले बांधको व्यवस्थापन गर्नु पर्नेमा जोड़ दिए ।
किसानको लागि सिँचाई ,विउ बिजन ,मलखाद समयमा आपूर्ति हुने व्यवस्था गराउनको लागि आग्रह समेत गरे । गौर नगरपालिकाका नगर प्रमुख शम्भू साहले गौर नगरपालिकामा शिक्षाको लागि शिक्षकको अभाव भएकोले शिक्षकको आपूर्ति गर्न मुख्य मंत्रीलाइ आग्रह गरे । गौर प्रादेशिक अस्पताल अहिले विगतको तुलना राम्रो अवस्थामा रहेकोले चिकित्सकको बासको लागि भवन निर्माणमा सहयोग गर्न अनुरोध समेत गरेका छन । गौर नगरपालिकाका पूर्व मेयर अजय कुमार गुप्ताले गौरको जनताको चाहना गौर राईस मिलको जग्गा अधिग्रहण रहेकोले जग्गा अधिग्रहणको लागि बजेट विनियोजन गरी जनताको चाहना इच्छा पूरा गराई दिन मुख्यमन्त्री यादवलाई आग्रह गरे ।
यातायात व्यवस्था सेवा कार्यालय रौतहटका प्रमुख अमरेन्द्र कुमार दासको सभापतित्वमा संपन्न कार्यक्रममा मधेश प्रदेश सभा सदस्य कृष्णा प्रसाद यादव , किशोरी देवी दास ,प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र लगायतका विभिन्न राजनितिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।