
बाल यौन दुराचार न्यूनीकरणका लागि कानून भन्दा पनि सामाजिक चेतनामा अभिवृद्धि हुनुपर्ने आवश्यकता औंल्याइएको छ ।
जनकपुरधाममा बिहीबार जानकी महिला जागरण समाजले आयोजना गरेको बाल यौनदुराचार विरुद्धमा प्रदेश स्तरीय अन्तरपुस्ता सम्वाद कार्यक्रममा मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले सो आवश्कता औल्याएका छन् । उनले बाल यौन दुराचार विरुद्ध प्रदेशको आठ वटै जिल्लामा सम्पन्न गरेको अन्तरपुस्ता सम्वाद सराहनीय रहेको बताए । नीति निर्माणकर्ता र सरोकारवालाहरुबीचको अन्तर सम्वाद कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताउँदै उनले भने,‘हामी हरुले कानून,सरकार,प्रहरी प्रशासनको कुरा गर्छौ तर,यस प्रकारको दुराचार रोक्नका लागि सबभन्दा ठूलो कानून समाज हो त्यसैले समाज सचेत हुन जरुरी छ ।’ समाजमा देखिएको विकृति विसंगतिलाई अन्त्य गर्नका लागि सकारात्मक परिवर्तन आउन सके बाल यौन दुराचार मात्र होइन विभिन्न प्रकारको विकृतिहरु विस्तारै अन्त्य भएर जाने उनले विश्वास व्यक्त गरे ।
उनले जानकी महिला जागरण समाजद्वारा यस बारेका गरिएको कार्यक्रमले सामाजिक अनुशासन,संस्कारमा सकारात्मक परिवर्तन परिवर्तन आउनसक्ने धारणासमेत राखे । कार्यक्रममा मधेश प्रदेशका सांसद रामअशिष यादवले संस्कार बिनाको शिक्षा औचित्यहीन रहेको र संस्कारसहितको शिक्षामा जोड नदिए सम्म बाल यौन दूराचारलाई न्यूनीकरण गर्न नसकिने बताए । बाल यौन दुराचार भन्ने गम्भीर विषय रहेको बताउँदै उनले भने,‘जब समाज संस्कार विहीन बन्छ,नैतिकताको अभाव देखिन थाल्दछ र गलत तरिकाले सामाज रुपान्तरणको पथमा अगाडि बढ्छ त्यस्तो अवस्थामा कानून एउटा सहारा मात्रै हुने र मुख्य रुपमा शिक्षाको विकास गरी सामाजिक चेतनामै अभिवृद्धि गर्न सकिए विकृतिको अन्त्य गर्न सकिन्छ अन्यथा सम्भव छैन।’ सांसद दीपेन्द्र ठाकुरले समाजमा देखिएको गतिविधिहरुमा सही र गलत छुट्याउन पनि चेतनामा अभिवृद्धिको आवश्यकता औंल्याए । उनले अहिलेको तथ्यांक हेर्ने हो भने २२ प्रतिशत भन्दा बढी यौन दुव्र्यवहारको घटना छिमेकीबाट हुने गरेको ,१० प्रतिशत हिंसा पारिवारिक सदस्यद्वारा नै हुने गरेको उनले उल्लेख गरे ।
सांसद ठाकुरले ज्ञान बिनाको मानिस पशु सामान हुने गरेको बताउँदै कानून बनाएर मात्र नहुने सामाजिक चेतनामा विकास गर्नका लागि सोही अनुसारको शिक्षा दीक्षाको वातावरण तयार गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । प्राध्यापक डा. भोगेन्द्र झाले ,‘ कानून निर्माण गर्नु महत्वपूर्ण होइन,सो कानून व्यवहारमा लागु छ कि छैन भन्ने महत्वपूर्ण छ त्यसैले कार्यान्वयनमा जोड दिन सक्नु पर्छ ।’ कुनै पनि समाजलाई सभ्य र सभ्रान्त बनाउनका लागि कानूनी राज्यको व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्दै डा.झाले संस्कार र अनुशासनसहितको शिक्षा दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कुमार कर्णले विभिन्न आठ वटा जिल्लामा भएको सम्वाद कार्यक्रममा सहभागी भएका केही जनप्रतिनिधिहरु बाल यौन दुराचारबारे अनभिज्ञ रहे पनि जानकारी पाएपछि यसको नियन्त्रणका लागि प्रतिबद्धता जनाएको बताए । मुलुकमा विभिन्न विकृति विसंगति अन्त्यको लागि थुप्रै कानून रहे पनि कार्यान्वयन पक्ष कमजोर रहेको कारण सोको पाना हुन नसकेको प्रति अध्यक्ष कर्णले गुनासो पोखे ।
विगतका अध्ययनहरुले विद्यालयमा मात्र होइन बालबालिका घरमासमेत आफन्तबाटै यौन दुराचारको शिकार बन्नु सामाजिक चेतना हराउँदै गएको पुष्टि भएको बताउँदै भने,‘समाज सचेत हुनुपर्छ,कुनै प्रकारको विकृतिलाई अन्त्य गर्नका लागि समाज नै अग्रणी भूमिका निर्वाह गर्नु पर्छ अन्यथा सम्भव छैन।’ समाजका अध्यक्ष मन्दाकिनी कुमारी कर्णको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रिंकु मिश्र, महिला तथा बालबालिका मन्त्रालयका प्रतिनिधि देव कुमारीलगायतले मुख्यतः गुड टच र ब्याड टच मान्सिकतामा निर्भर रहेको बताइन । कार्यक्रममा बाल यौन दुराचार बारे तीनवटा वृत्त चित्रसमेत प्रदर्शन गरिएको थियो ।