
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत राखिएका जनकपुरधामको एकमात्र सरकारी अस्पतालको सेवा महँगीए पनि सर्वसाधारणले सहज महसुस गर्न सकेको छैन् । अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी)मा उपचारका लागि ५० रुपैया“को रसिद काटे पनि १० रुपैया“को कपास, ब्याण्डेज समेत पाउँदैनन् । एमडीको अध्यापन सुरु भएको बताउने प्रतिष्ठानले अस्पतालको आकस्मिक कक्षमा अहेबबाट उपचार गराइरहेको अवस्था छ ।
अस्पतालमा विगतमा सञ्चालनमा रहेको आईसीयूको शैय् या घटाइएको छ ।सफाइका अवस्थामा सुधार देखिएको छैन् ।तर अस्पतालबाट प्रदान गरिने सबै सेवाहरुको शुल्क वृद्धि गरिएको छ । अस्पताललाई प्रतिष्ठान मातहत राखिएपछि सबै सेवा सशुल्क गरिएको छ । प्रादेशिक अस्पतालको रुपमा रहेको बेला औषधि लगायत कयौं सेवाहरु निशुल्क उपलब्ध हुने गरेको थियो । विपन्नहरुको सम्पूर्ण उपचार निशुल्क हुने अस्पतालमा हाल सबैले शुल्क तिर्नुपर्ने बाध्यता भएको छ ।
अस्पतालको सेवालाई सुधार गर्न प्रतिष्ठानलाई निर्देशन दिएको सामाजिक विकास मन्त्री सुरिता साहले बताइन् । ‘अस्पतालबाट प्रदान गरिने सेवा स्तरीय र सहज हुनुपर्छ’ उनले भनिन् ,अस्पतालको सेवा सुधारका लागि सरकारले आवश्यक बजेट उपलब्ध गराउने छ । सर्वसाधारणले अस्पतालबाट सुविधा प्राप्त नभएको गुनासो गर्न थालेपछि प्रदेश सरकारले अस्पताललाई प्रतिष्ठानबाट अलग गर्ने तयारी गरेको थियो । तर मन्त्री साहले अस्पताललाई हाल प्रतिष्ठानमा नै राख्ने बताइन् । ‘ प्रतिष्ठानले एमडीको अध्यापन प्रारम्भ गरिसकेकाले अस्पताललाई अलग गरिने छैन्’ उनले भनिन्, सरकारले अस्पताललाई अलग गर्ने निर्णय हालका लागि स्थगित गरेको छ । अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुले कोभिड–१९को भत्ता पाउन नसक्नुमा अस्पताल व्यवस्थापन जिम्मेवार रहेको उनले बताइन् ।सरकारले उनीहरुका लागि उपलब्ध गराएको भत्ता अन्य शीर्षकमा खर्च गरिएको मन्त्री साहले बताइन् । कोरोनाको समयमा उपचारमा खटेका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई विशेष भत्ता दिने निर्णय गरेको थियो ।प्रदेश सरकारले उनीहरुका लागि रकम अस्पताललाई प्रदान गरे पनि हिनामिना गरिएको मन्त्री साहको कथन छ ।
प्रदेश सरकारले हरेक जिल्ला अस्पताललाई प्रादेशिक बनाएको छ । मधेश प्रदेशमा रहेको नारायणी अस्पताल र सगरमाथा अस्पताल अझै पनि संघीय सरकार मातहत रहेको छ । राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको काम चलिरहेपनि राजविराज अस्पताललाई त्यस मातहत राखिएको छैन् ।