
शिक्षा विज्ञान प्रविधि तथा बाणिज्य मन्त्री महेश प्रसाद यादवले मातृ भाषामा पठन पाठन गराउनुमा जोड दिएका छन् ।
शुक्रबार जनकपुरधाममा सामुदायिक विद्यालयका व्यवस्थापन समितिहरुको प्रथम मधेश प्रदेश सम्मेलन तथा क्षमता विकास कार्यक्रममा बोल्दै मन्त्री यादवले विश्वका धेरै देशहरुमा मातृभाषामा सरकारले शिक्षा प्रदान गर्दै आइ रहेको चर्चा गर्दै उनले मातृभाषामा शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए ।
शिक्षा विकास निर्देशनालय मधेश प्रदेश जनकपुरधामको संयोजन तथा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल प्रदेश कार्यसमिति मधेस प्रदेश नेपालको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा मन्त्री यादवले अन्य भाषामा बोलचाल गर्दा धेरैलाई बुझ्न कठिनाइ हुने गरेका कारण आफ्नै भाषा प्रयोग गर्न आग्रह गरे । उनले बालबालिकाहरुलाई मातृभाषामा पठन पाठन गराउँदा उनीहरुलाई बुझ्न सहज हुने भएकाले विद्यालय व्यवस्थापन समिति, शिक्षक, शिक्षिका लगायतवर्गले मातृभाषामा जोड दिनुपर्ने उनको तर्क थियो ।
उनले मधेश प्रदेश सरकार निकट भविष्यमा मातृभाषालाई प्राथमिकतामा राख्दै व्यवहारिक रुपमा प्रयोगमा ल्याउन प्रतिवद्ध रहेको उनको भनाइ थियो । उनले नैतिक शिक्षा, शारीरिक शिक्षा, लगायतका अतिरिक्त क्रियाकलापले गर्दा व्यवहारिक शिक्षा प्रभावकारी हुने भएकाले मातृभाषालाई प्राथमिकतामा राख्न उनले आग्रह गरे ।
समितिको प्रथम मधेश सम्मेलनले दुर्गानन्द ठाकुरको अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरेको छ । त्यस्तै, उपाध्यक्षमा महेश राय, सचिवमा रामपुकार यादव, कोषाध्यक्षमा चन्द्रकली देवी मलाहलाई चयन गरिएकोछ । सदस्यहरुमा तबारक दर्जी, अशोक कुमार मिश्र, रामचन्द्र महतो, कल्पना गजमेर, मेनुका पोखरेल, दीपेन्द्र प्रसाद पटेल, रामायण चौधरी, बन्धुशाहा तेली, अनिता भाटा, सुदिप महतो, रञ्जु मण्डल, दिनेश कुमार यादव, ललिता देवी मण्डल, शियाशरण यादव, अरुण कुमार यादव, चन्देश्वर राम, दीपेन्द्र कुमार कुशवाहा, मदन प्रसाद, टंक बहादुर बोहरा लगायतका छन् ।