अपडेट 
२०७९ फाल्गुन २१, आईतवार ०७:३०

जयनगर– कुर्था संचालन हुने रेल सरकारको नीति नियम विपरीत बीमा बिना नै सञ्चालनमा रहेको पाइएको छ । नियमित संचालनमा आएको झण्डै एक वर्ष हुन लाग्दा पनि व्यवस्थापकीय पक्षद्वारा बीमा बिना नै रेल सञ्चालन गरी रेल र यात्रुप्रति देखाएको असंवेदनशीलतालाई छर्लंग पारेको छ ।

गत चैत १२ गते देखि रेल नियमित रुपमा संचालनमा रहेको छ । भारतीय बजार जयनगरदेखि कुर्था सम्म ३५ किलो मिटर दूरीमा दैनिक दुई पटक संचालन हुदै आएको दुई वटा रेलको बीमा वजेट अभाव हुन नसकेको नेपाल रेल्वे कम्पनीका इन्जिनियर रवीन्द्र साहले बताए । एक पटकमा हजारभन्दा बढी यात्रु लिएर हिड्ने दुई वटा रेलको अहिले सम्म बीमा बिना नै गुडिरहेको छ । दुबै रेलको बीमाका लागि चालु आर्थिक वर्षमा १५ लाख र गत आर्थिक वर्षमा ३० लाख रकम विनियोजन गरिएको थियो । जब कि एउटै बोगिसहितको रेलको बीमा गर्नलाई ९० लाख रुपैयाँ चाहिन्छ । यस हिसाबले दुवै रेल बीमाके लागि १ करोड ८० लाख रुपैयाँ खर्च हुने देखिएको छ । बीमाका लागि गत आर्थिक वर्षमा ३० लाख रकम विनियोजन गरिएको थियो, इन्जिनियर साहले भने, ‘रकम अपुग भएपछि बीमा गराउन सकिएन ।

चालु आर्थिक वर्षमा पनि बीमाका लागि १५ लाख मात्रै रकम विनियोजन गरिएको छ । रेलको बीमा नभए पनि रेल दुघर्टनाग्रस्त हुँदा त्यसमा सवार यात्रुलाई नेपाल रेलको ऐन अनुसार मृतकका परिवारजनले ७ लाख क्षतिपूर्ति वापत पाउने व्यवस्था रहेको छ । नेपाल रेल्वे कम्पनिका महाप्रबन्धक निरंजन झाले भने,‘ एक त यहाँ बीमा कम्पनीहरु रेलको बीमा गर्न तयार देखिएका छैनन् भने अर्को तिर बीमा गर्न बजेटको पनि अभाव छ ।’ उनले भने, ‘रेलको नभए पनि यात्रुहरुको पनि बीमा गर्न सकिन्थ्यो ।

तर त्यसको प्रक्रिया पनि जटिल छ र बीनाका लागि बजेटको पनि अभाव नै छ । त्यसकारण अहिले सम्म रेल र यात्रुको बीमा गराउन सकेका छैनौ ।’ जयनगर–कुर्था रेल नेपाल रेल्वे कम्पनीले नियमति रुपमा चलाएपनि दुबै रेल अहिले पनि नेपाल रेल्वे विभागकै नाममा रहेको छ । नेपाल रेल्वे विभागले अझै पनि दुबै रेलको स्वामित्व नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गर्न नसकेको उनको भनाइ छ । गत पुसमा वैदेही स्टेशनमा नेपाली रेलमै किचिएर यात्रु मृत्यु भएको थियो । रेल खुल्न लागेपछि उनी टिकट नै नलिई रेलमा चढ्ने क्रममा रेलबाट लड्दा किचिएर धनुषा नगराइन नगरपालिकाका पुर्ण सदाको मुत्यु भएको थियो । उक्त घटनाको छानबिनका लागि नेपाल रेल्वे कम्पनीले छानबिन तथा मृतक परिवारलाई क्षतिपूर्तिका लागि छानबिन समिति गठन गरिएको थियो । तर रेलको बीमा नभएको कारण दैनिक लाखौ घाटामा संञ्चालन हुँदै आएको नेपाल कम्पनीलाई आफ्नो कोषबाट मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने अवस्था देखेर छानबिन समितिले टिकट नलिएको भन्दै क्षतिपूर्ति दिन सिफारिस गरको थिएन् ।

Comment


Related News