अपडेट 
२०७९ फाल्गुन २१, आईतवार ०७:३४

जनता समाजवादी पार्टी(जसपा)का ८० जना नेता तथा कार्यकर्ताहरुलाई अन्तरघातको आरोपमा कारबाही गर्न सिफारिस गरिएको छ । गत मंसिरको पहिलो हप्ता सम्पन्न भएको आम चुनावमा पार्टीभित्रबाट नै अन्तरघात भएको कारण जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवसमेत पराजित भएको निष्कर्ष निकालिएको छ ।

अन्तरघात छानबिन गर्न पार्टी कार्यकारिणी समितिका सदस्य शिवलाल थापाको संयोजकत्वमा गठित ३ सदस्यीय समितिले छानबिन गरेको प्रतिवेदन अध्यक्ष यादवलाई शनिबार हस्तान्तरण गरेका छन् । समितिले गरेको सिफारिसमा ८० जनाको नाम कारबाहीको सूचीमा रहेको छ । संयोजक थापाका अनुसार कार्यदलले १४ वटा जिल्लामा अन्तरघातबारे छानबिन गरेको थियो ।त्यस मध्ये १ सय ५२ जना आरोपि नेतासँग बयान लिएको र २ सय ४७ जनासँग प्रत्यक्ष संम्पर्क गरी जानकारी लिएको थियो । समितिले गरेको कारबाही सिफारिसमा सर्वाधिक सप्तरी जिल्लाका ३८ जना रहेको बताइएको छ ।‘अन्य जिल्लाका तुलनामा सप्तरीबाट केही बढी नेता नै अन्तरघातमा संलग्न देखिएको छ’ थापाले भने, अन्य जिल्लामा पनि प्रत्यक्ष संलग्नहरुलाई कारबाहीको सूचीमा राखिएको छ । राष्ट्रिय अध्यक्ष चुनाव लडेको सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ र प्रदेशसभामा जसपाका उम्मेदवार रहेकाहरु विरुद्ध घात गरेकाहरुलाई कारबाहीको सूचीमा राखिएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा पनि कारबाहीको सिफारिस गरिएको स्रोतले जनाएका छन् । स्रोतका अनुसार केन्द्रीय सदस्य, प्रदेशका पूर्व पदाधिकारी लगायतका नेताहरु कारबाहीमा परेका छन् । तर कारबाहीमा परेका भनिएका नेताहरुले पार्टीले स्थानीय तहमा प्राप्त गरेको भन्दा बढी मत संसदीय चुनावमा ल्याएको दाबी गरेका छन् ।एमालेसित चुनावी तालमेल गरिए पनि निर्वाचन क्षेत्र नम्बर २ मा संगठन नै नरहेको उनीहरुले बताएका छन् । कारबाहीको सिफारिस गरिएका सबै नेताहरुसित प्रत्यक्ष रुपमा भेटिएको थापाले दाबी गरेका छन् ।‘कारबाहीको सूचीमा रहेका सबै नेताहरुसित प्रत्यक्ष भेटेर जानकारी लिइएको छ ’ उनले भने, अन्तरघात गरेको पर्याप्त सबुद प्रमाण र नेता, कार्यकर्ताहरुको वयानलाई आधार बनाइएको छ ।

कोशी प्रदेशको पाँचथर, सुनसरी र मोरङ, मधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, बागमती प्रदेशको मकवानपुर, धादिङ, काभ्रे, लुम्बिनी प्रदेशको बर्दिया, कर्णाली प्रदेशको सुर्खेत, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा गएर कार्यदलले छानबिन गरेको थियो । प्रतिवेदन बुझ्दै जसपाका अध्यक्ष यादवले पार्टीको आगामी बैठकमा प्रतिवेदनमाथि छलफल हुने र कार्यदलले सिफारिस गरेको नेता तथा कार्यकर्तालाई कारबाही हुने जानकारी दिएको संयोजक थापाले बताए । ‘प्रतिवेदनलाई कार्यान्वयनमा ल्याउन अध्यक्ष यादव प्रतिबद्ध रहनु भएको छ ’ उनले भने, आगामी बैठकबाट सो प्रक्रिया अगाडि बढ्ने छ । कारबाही सिफारिसमा धनुषाबाट कार्यकारिणी सदस्य रहेका नेता पनि परेका छन् । धनुषाका जिल्ला अध्यक्षलाई समेत कारबाहीको सूचीमा राखिएको स्रोतले जनाएका छन् । ‘हामीले प्रतिवेदन बुझाइसकेका छौँ, हामी चाहन्छौँ कार्यान्वयन होस् ’ थापाले भने, पार्टीका अध्यक्ष स्वयंले नै यसपटक त्यसमा चासो लिइरहनुभएकाले प्रतिवेदन कार्यान्वयनमा आउँछ । २०७४ चुनावमा भएको छानबिनमा कार्यदलले ३९ जना नेतालाई कारबाही गर्ने सिफारिस गरेको थियो । त्यसमध्ये ८ जनालाई पार्टीबाट निष्कासन र ३१ जनालाई निलम्बनका लागि सिफारिस गरेको थियो ।

तर त्यो प्रतिवेदन नै कार्यान्वयनमा आएको थिएन । पार्टीमा उपेक्षित महसुस गरिरहेका कयौं नेताहरुले जिल्लाहरुमा गुट खडा गरी इमान्दार र निष्ठावान नेता, कार्यकर्तालाई पाखा लगाउने काम भइरहेको आरोप लगाएका छन् ।राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले चाकडी चाप्लुसी गर्नेको घेराबाट बाहिर निस्कन नसके मधेश प्रदेशमा संगठन धराशायी हुने चिन्ता कार्यकर्ताहरुले व्यक्त गरेका छन् ।

Comment

Related News