
धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका –१ रमदैयास्थित राजदेवी मन्दिरको मूर्ति चोरी गर्ने गिरोह सहित ५ जनालाई प्रहरीले पक्राउ गरेकोछ ।
धनुषा प्रहरी कार्यालय धनुषाले मुख्य योजनाकार विदेह नगरपालिका ४ का ३० वर्षीय सरिफ मुसलमानसहित ५ जनालाई सार्वजनिक गरेको छ ।त्यसमा १ जना हिन्दू छन् । सोही ठाउँका २२ वर्षीय नसरुदिन साह, हबगुल्लाह शाह, क्षीरेश्वरनाथ नगरपालिका– ५ का ३७ वर्षीय रजाक मोहमद र कमला नगरपालिका– ७ हथमुण्डाका २२ वर्षीय रमेश कुमार महतोलाई प्रहरीले सार्वजनिक गरेको छ । फागुन १४ गते राति रमदैयास्थित जनकपुरधाम–ढल्केवर सडक छेउमा अवस्थित राजदेवी मन्दिरमा उनीहरुले चोरी गरेका थिए । सीसीटीभी र ह्युमेन इन्टेलिजेन्सको सहायतामा पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जनाए । ‘पक्राउ परेका सबै पेशेवर चोर हुन्’ उनले भने, उनीहरुको समूह ठूलो रहेको र सो विषयमा अनुसन्धान भइरहेको छ । ‘उनीहरुको जालो ठूलो रहेको अहिलेसम्मको अनुसन्धानमा देखिएको छ ’ खड्काले भने, तत्कालीन ठाँढी झिझाको डाँका परिवारसंग उनीहरुको संलग्नता समेत देखिन्छ । उनीहरु चोरी गरेको सामान लिएर भारत जाँदै गरेको अवस्थामा जनकनन्दनी गाउँपालिका– ३ महुवास्थित रेलवे लिकबाट पक्राउ परेको प्रहरीले जनाए ।
उनीहरुको साथबाट कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली, मूर्तिसहितको चाँदीको पिढी २ केजी, चाँदीको मुकुट २५ तोला, चाँदीको झाप १ केजी, चाँदीको थाली आधी किलो, चाँदीको लोटा १५ तोला, चाँदीको घण्टी १२ तोला, सुनको मनटिका ६ आना, सुनको नथिया १० आना, सुनको सिक्रि ४ आना, नाकको टप १ आना, कानको बाली ६ आना, दान पेटिकामा रहेको खुद्रा पैसा बरामद गरेका छन् । उनका अनुसार मोबाइल १३ थान, नगद ११ हजार ५ सय, टुक्रा पारिएको चाँदी २ केजी, चरेशको थाल ७ थान, हथौडा १ थान, दविया ३ थानलगायतको सामानहरु बरामद भएको छ । पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाउँदै प्रहरीले जनकपुरधामस्थित हुनमानगढी र भारतमा पनि चोरी गरेको आशंका गरेको छ । यस अघिपनि राजदेवी मन्दिर र लक्ष्मीनिया गाउँपालिकाको लक्ष्मीनिया माई मन्दिरमा चोरी भएको थियो ।