
नेपाल भारतबीच खुल्ला सीमा नाका रहेका कारण यहाँका कुखुरा किसानहरु समस्यामा परेका छन् । उनीहरुले भारतीय बजारको मूल्यमा यहाँ कुखुरा तथा अण्डाजन्य सामान उपलब्ध गराउन नसक्दा किसानहरुलाई भारी नोक्सानी बेहोर्नुपरेको छ ।
खुल्ला सीमा नाका रहेका कारण यहाँ भन्दा सस्तोमा भारतीय बजारमा अण्डा, कुखुरा उपलब्ध हुने गरेका कारण यहाँ उत्पादन हुने कुखुरा र अण्डाको बिक्री कम हुने गरेको छ । कामदारदेखि लिएर कुखुराले खाने दानासमेत महँगोमा उपलब्ध हुने गरेकाले भारतीय बजारको दररेटमा बिक्री गर्न कठिनाइ भएको छ । खुल्ला सीमा नाका भएका कारण ट्रकले नै भारतबाट आयात हुने गरेका छन् त्यो कुखुरा नेपालमा पाइने कुखुरा भन्दा सस्तो हुने गरेका छन् । सीमा नाकामा एउटा ट्रक नेपाल भित्र्याउनका लागि प्रहरीलाई एक हजार सम्म मात्र दिँदा समस्या नहुने गरेको यहाँका व्यापारीहरुले आरोपसमेत लगाएका छन् । भन्नका लागि सीमा नाकामा कडाइ गरिएको छ तर, ठूला व्यापारीहरुको यस्ता यस्ता ट्रकहरु सामान्य रुपमा भित्रिर्ने गरेको पाइएको कुखुरा व्यबसायी किसान जोरो अभियानका संयोजक रुपेशकुमार साहले आरोप लगाएका छन् । उनले खुला सिमानाका कारण यहाँका व्यवसायीहरु धरासायी हुने अवस्थामा रहे पनि सम्बन्धित निकायको मौनताले व्यवसायी पलायन हुने स्थितिमा पुगेको उनको भनाइ छ । धनुषासहित देशभरका कुखुरा व्यवसायी किसानहरु समस्यामा रहेको भएपनि सरकार र प्रहरी प्रशासनको उदाशिनताका कारण यहाँका व्यवसायीहरु व्यापक समस्यामा परेको छ ।
हुनत नेपाल सरकारले किसानहरुकालागि विभिन्न प्रकारको अनुदान दिने गरेका छन् तर, ती नेता मन्त्रीहरुको आसोपासे र नेता कार्यकर्ताहरुकैलागि रहेको विभिन्न समयमा आरोप लाग्ने गरेको छ । मधेश प्रदेश सरकारले समेत विगतमा कृषि मन्त्रालयको माध्ययमले किसानका लागि विभिन्न अनुदानहरु प्रदान गरेका छन् तर, त्यो अनुदान वास्तविक किसान सम्म पुग्न सकेको छैन् । वास्तविक किसानहरुको समस्या एकीकृत रुपमा समाधान गर्नका लागि धनुषामा कुखुरा व्यवसायी किसान जोरो अभियान सुरु गरिएको छ । शनिबार धनुषाको धनुषाधाम नगरपालिकामा अभियानका संयोजक साह र रामजित यादवले जिल्लाभरिका कुखुरा व्यवसायीहरुलाई एक ठाउँमा ल्याएर एकीकृत गर्न उक्त अभियानको सुरुवात गरेको जनाएका छन् । अभियानका संयोजक साहले यस अभियानमा आबद्ध हुन सम्पूर्ण कुखुरा व्यवसायीलाई समय समयमा सीपमूलक तालिम दिनेदेखि, आर्थिक र सामाजिक रुपमा पनि सबैलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।