अपडेट 
२०७९ फाल्गुन २२, सोमबार ०८:३१

मधेश प्रदेशका वन, पर्यटन तथा उद्योग मन्त्री सुनिता यादवले जनयुद्धका क्रममा आफ्नै परिवारका तीन सदस्यलाई गुमाएकाले शहीद परिवारको पीडा नजिकबाट बुझेको र महसुस गरेको बताएकी छन् ।

शहीद सप्ताहको अन्तिम दिन आइतबार नेकपा माओवादी केन्द्र सप्तरीले आयोजना गरेको शहीद एवम् बेपत्ता परिवारका योद्धाको अभिनन्दन समारोहमा उनले यस्तो कुरा बताएकी छन् । ‘जनयुद्धकै क्रममा आफ् नो बुवा रामवृक्ष, पति डम्बर र भाइ शेखरलाई गुमाउनु परेको पीडा अझै मसँग छ, उनले भनिन्– त्यसैले शहीद परिवारले भोगि रहनुपरेको पीडा बारे म पूर्ण जानकार छु, नजिकबाट महसुस गरेको छु ।’ शहीद परिवारका लागि सरकारले बनाएको नीति तथा कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा शहीद परिवार अझै पनि पीडामा बसिरहेको गुनासाहरु बेला बेलामा आउने गरेको छ, उनले भनिन्– यसको समाधानका लागि मेरो तर्फबाट कुनै कसर बाँकी राखिने छैन ।’ शहीदको वलिदानका कारण निरंकुशता अन्त्य भइ लोकतन्त्र, गणतन्त्र स्थापना हुँदै मुलुकले नयाँ संविधान पाएसँगै समृद्धिको यात्रामा देश अघि बढेको जिकिर गर्दै उनले शहीद परिवारलाई राज्यले दिने सुविधामा कुनै कन्जुस्याई स्वीकार्य नहुने बताइन ।

उनले आफ्नो जन्मथलो धनुषा भए पनि जनयुद्धका बेला कर्मथलो सप्तरी नै भएकाले यहाँका जनताप्रति विशेष लगाव रहेको समेत बताइन । सो अवसरमा ४० जना शहीद परिवारलाई मन्त्री यादवले सम्मान गरेकी थिइन । पूर्व मन्त्री एवम् नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष उमेश प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य असर्फी सदा, अरुण साह अनिल, पूर्व प्रदेश कमिटि सदस्य छेदी रजक विमल, भागवत यादव, वाइसीएलका केन्द्रीय सचिव शिव कुमार राम, पत्रकार महासंघ सप्तरीका सभापति श्रवण देव, प्रेस सेन्टर मधेश प्रदेशका महासचिव गोपालप्रसाद गुप्ता, शहीद परिवारका रीता चौधरी लगायतले पनि सहिदको योगदान बारे चर्चा गरेका थिए ।

Comment

Related News