
रौतहटको वृन्दावन नगरपालिकाका जनप्रतिनिधिहरुले स्थानीय सञ्चारकर्मीहरुसंग होली मनाएका छन् । वृन्दावन नगरपालिकाका मेयर विनोद प्रसाद कुर्मी र उपमेयर संगीता देवी रामले दुबै जनाले छुट्टा–छुट्टै कार्यक्रमको आयोजना गरी सोमबारै पत्रकारहरुसंग होली पर्व मनाएका छन् ।
मेयर कुर्मीले हर्षाहामा होली मिलन कार्यक्रमको आयोजना गरी विभिन्न सञ्चार क्षेत्रका पत्रकारहरुसंग होलीको शुभकामना आदान–प्रदान गर्दै होली पर्व मनाएका छन् । पहाडमा सोमबार र मधेशमा मंगलबार मनाइने रंगको पर्व होलीमा सकारात्मक सन्देश जाने उद्देश्यले पत्रकार, प्रहरी र जनप्रतिनिधि सम्मिलित टोलीले रंग, अबिर एक आपसमा दलेर होली मिलन कार्यक्रम मनाएका छन् । सो अवसरमा नगर प्रमुख कुर्मीले शान्तिपूर्ण र मर्यादित भएर होली पर्व मनाउन आग्रह गर्दै जवर्जस्ती कसैलाई लोला हाल्ने वा रंग अबिर दल्ने काम नगर्न आग्रह गरेका थिए ।
त्यस्तै वृन्दावन नगरपालिकाकी नगर उपप्रमुख संगीता देवी रामले पनि चन्द्रनिगाहपुर स्थित रहेको आफना निजी निवासमा होली मिलन कार्यक्रमको आयोजना गरी जिल्लाका पत्रकारहरुसंग होली पर्व मनाएकी छन । नगर उपप्रमुख रामले होली खेल्दा सामाजिक सद्धभाव कायम राख्न सबैलाई अनुरोध गरेकी थिएन । वृन्दावन नगर प्रमुख कुर्मी र उपप्रमुख रामले टिका र गम्छा ओढाएर दर्जनौ सञ्चारकर्मीहरुलाई सम्मान समेत गरेका थिए । जिल्लाका अन्य जनप्रतिनिधिहरुले पनि सोमवार पत्रकाहरुसंग होली मनाएका छन् ।