
सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरमा आइतबार भएको निःशुल्क आँखा शिविरबाट ४०३ जना लाभान्वित भएका छन् ।
जनता माध्यमिक विद्यालय भवानीपुरमा भएको शिविरमा २०८ जना महिला र १९५ जना पुरुषले सेवा लिएका छन् । तीमध्ये ११० जनामा मोतीविन्दु फेला परेको छ । तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डुले अहिलेसम्म बागमती, बरहथवालगायत स्थानमा आयोजना गरेको शिविरमा २ हजार ३३१ जनाको आँखा जाँच गरिएकोमा ३५६ जनामा मोतिविन्दु फेला परेको छ । अब फागुन २४ गते हरिवन १ स्थित आधारभूत विद्यालय पटौनामा आँखा शिविर राखिएको छ ।
यी सबै ठाउँका शिविरमा फेला परेका मोतीविन्दुका बिरामीलाई फागुन २६ देखि २९ सम्म बागमती नगरपालिकास्थित शंकरपुरमा निःशुल्क अप्रेसनको व्यवस्था मिलाइएको आयोजक बागमती नगरपालिकाले जनाएको छ ।