
मथिला नाट्य कला परिषद् (मिनाप)द्वारा आयोजित होरी महोत्सवमा गोविन्द सेवा समिति उत्कृष्ट ‘होरैया’ टिम बनेका छन् ।
सोमबार जानकी मन्दिरमा भएको होरी महोत्सवमा सो टिम प्रथम भएको छ । धनुषा, महोत्तरी र सर्लाहीको आठ टिमबीच प्रतिस्पर्धा भएको निर्णायक मण्डलका सदस्य हिमांशु चौधरीले जानकारी दिए । उनका अनुसार धनुषाधाम मंगलपुर टिम दोस्रो र सीताराम संगकीर्तन गिद्धा तेस्रो स्थान प्राप्त गरेका थिए । विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहको हातबाट कप प्रदान गरिएको थियो । मिनापले २०६१ सालदेखि होली पर्वको मौलिकता संरक्षण गर्ने उद्देश्यले होरी महोत्सव र महामुर्ख सम्मेलन गर्दै आएका छन् । सामाजिक, राजनीतिक लगायतका क्षेत्रमा उल्लेखनीय काम गर्ने व्यक्तिलाई मिनापले महामूर्खको उपाधि दिने गरेका छन् भने होरी गायनलाई प्रोतसाहन गर्ने गायन प्रतियोगिता पनि गर्ने गरेका छन् । दुई दिवसीय उत्सवमा मंगलबार (आज) महामुर्ख सम्मेलन गर्ने छन् ।
पहिलो दिन सहभागी भएका टिमबीच दुई चरणको होरी गायन गराइएको थियो । सो गायनको मौलिकता सुरताल, हाउभाउ र भेषभूषाको आधारमा निर्णाय मण्डलहरुले अंक दिएर गायनको मूल्यांकन गरेका थिए । गायनमा सिंहासनी बसहा बाबा टिम, रामनाम संगकीर्तन, बाबा जागेश्वरनाथ मिर्जापुर सर्लाही, हनुमान आराधना मण्डली विसमरपुर र सरस्वती नव युवा क्लब हरिपुरका होरैया टिमले होलीको मौलिक गीत तथा जोगिरा सुनाएका थिए । कार्यक्रमलाई प्रमुख अतिथि तथा अतिथिहरुले डम्फा बजाएर शुभारम्भ गरेका थिए । प्रतिस्पर्धामा उत्रेका टिम र मिनापका कलाकार हरुले पनि गायनसँगै नाच गान प्रस्तुत गरेका थिए ।