अपडेट 
२०७९ फाल्गुन २६, शुक्रबार १०:१५

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सको जहाजको इन्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको छ । क्यानले उक्त एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको हो ।

प्राविधिकले जाँचपछि मात्रै उडान गर्न दिने निर्णय गरिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन् । उनले विगतमा श्री एयरलाइन्सका प्राविधिकले सुरक्षा जाँच गर्दा प्राविधिक त्रुटि पाइएकाले अब क्यानको जाँचपछि मात्रै जहाज उडान गर्न दिने निर्णय भएको बताए ।

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरका अनुसार क्यानले ढिलो निर्णय दिएकाले यात्रुलाई समयमै खबर गर्न नपाउँदा मर्कामा परेका बताए । आजका लागि १४ उडान निर्धारण  गरिएकामा हालसम्म तीन उडान रद्द भइसकेका छन् । प्राविधिक जाँचपछि दिउँसोसम्म बाँकी उडान भर्ने सम्भावना रहेको उनले सुनाए । व्यवस्थापक मानन्धरले भने, “क्यानको निर्णयबारे हामीलाई आज बिहान साढे सात बजे मात्र जानकारी भयो, बिहीबार साँझसम्म खबर पाएको भए यात्रु व्यवस्थापनमा सहज हुने थियो ।”

श्री एयरलाइन्सका साना–ठुला गरी आठ जहाज छन् । तीमध्ये चारवटा मात्रै सञ्चालनमा छन् ।

Comment

Related News