अपडेट 
२०७९ फाल्गुन २६, शुक्रबार १७:१८

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ ।

आज शुक्रवार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले रिट निवेदनलाई अग्राधिकार साथ अगाडि बढाउने निर्णय गर्दै कारण देखाउ आदेश दिएको हो । गएको कात्तिक महिनामा अधिवक्ता ज्ञानेन्द्रराज आरण र रामेछापका कल्याण बुढाथोकीले प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउन माग गर्दै रिट निवेदन दिनुभएको थियो । त्यस बेला दरपिठ गरिदिएका निवेदनहरूको दरपिठ बदर गर्न सर्वोच्च अदालतले फागुन १९ गते आदेश दिएपछि मङ्गलवार त्याे रिट निवेदन सर्वोच्च अदालतमा दर्ता गरिएको थियो ।

२०७६ सालमा काठमाण्डौमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्द्वका बेला मारिएका पाँच हजार मानिसको आफूले जिम्मा लिने भनेर दिनुभएको अभिव्यक्तिसँग रिट जोडिएका छन् । माओवादी केन्द्रले यसअघि नै विज्ञप्ति निकालेर मुद्दा दर्ता गर्ने सर्वोच्चको पछिल्लो आदेशलाई नेपालको संविधान र अग्रगामी उपलब्धिहरूविरुद्धको गतिविधि भन्दै आफ्नो असहमति सार्वजनिक गरेको छ ।

आज बिहानसमेत प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्र र माओवादी पृष्ठभूमिका दलका नेताहरूले बैठक बसेर शान्ति प्रक्रियाविरुद्धका मुद्दामा एक भएर प्रतिरोध गर्ने निर्णय गरेका छन् ।

Comment


Related News

Latest News

Trending News