अपडेट 
२०७९ फाल्गुन २७, शनिबार १०:२५

मनोरम फागु पर्व सम्पन्न भएको छ । एक वर्षपछि रुखहरुमा नव पल्लव पलाउने छन् । प्रकृति मुस्कुराउने छ । सुगन्धित फूलहरुको रथमा सवार भई पुनः वसन्त ऋतुको आगमन हुनेछ । अनि वसन्ती वयारमा डम्फाको चोटमा सबै गाउँने छौं – नकबेसरी कागा ले भागा । हो हो सैंया अभागा ना जागा….। फागु पर्वसंग जोडेर अनेकौ कथा,उपकथा तथा किंवदन्तीहरु व्याप्त छन् तर वास्तवमा फागु ऋतु उत्सव हो । ऋतुराज वसन्तको अगुवानीमा गर्ने हर्ष वधाई हो । आफ्ना बन्धु बान्धवसंग युद्ध नलडने जिद्दी गरिरहेका पाण्डुपूत्र अर्जुनलाई कर्मयोगको शिक्षा दिँदै भगवान श्रीकृष्णले श्रीमद् भागवत गीतामा भनेका छन् –

‘बृहत्साम तथा साम्नां गायत्री छन्दसामहम् ।

मासानां मार्गशीर्षोऽहमृतूनां कुसुमाकर : ।।’

अर्थात् गायन गरिने श्रुतिहरुमध्ये म बृहत्साम हुँ । छन्दहरुमा गायत्री छन्द हुँ । महिनाहरुमा मार्गशीर्ष तथा ऋतुहरुमा म कुसुमाकर अर्थात् वसन्त ऋतु हुँ । प्रकृति सोह्रौ कलामा प्रष्फुटित भइरहेको वेला वसन्त ऋतुको आगमन हुन्छ । वसन्त ऋतुको विषयमा भनिएको छ –‘जसरी युवावस्था मानवजीवनको वसन्त हो, यसैगरी सृष्टीको युवावस्था वसन्त हो । शतपथ ब्राह्मणमा ऋतुहरुको नाम उल्लेख पाईन्छ । जसमा पहिलो ऋतुको रुपमा वसन्तको चर्चा आएको छ –

‘वसन्तो ग्रीष्मोवर्षा : । ते देवा ऋतव : शरद्धेमन्त : शिशिरस्ते …। ’ पूर्वीय दर्शनमा वसन्त,गृष्म,वर्षा,शर द,हेमन्त र शिशिर गरी ६ ऋतुको वर्णन पाईन्छ भन्ने पश्चिमी दर्शनमा चार ऋतुको वर्णनमात्र पाईन्छ । वसन्त ऋतुलाई व्रह्मको संज्ञा पनि दिइन्छ । ब्रह्म अर्थात् प्रकृतिका रचयिता – ‘ ब्रह्मौव वसन्त : ’।

कालिदास ऋतुसंहार नामक ग्रन्थमा वसन्तलाई प्रिय ऋतुको रुपमा वर्णन गरेका छन् –

‘ सर्वप्रिये चारुतरं वसन्ते । ’

वसन्त ऋतुको स्वागतमा मिथिलानगरी भाव विभोर हुन्छन् । झन यसै बेला सुरु हुन्छ – मध्यमा परिक्रमा । यस धार्मिक उत्सवले मिथिलाको फागुलाई अझ रोमाञ्चक बनाएको छ । सर्वसाधारणको होली हुडदंगमा साधु सन्तहरुको सात्विक होली यस पर्वको महत्तालाई बढाएको छ । मिथिला नाट्यकला परिषद्को फागु महोत्सव पछिल्लो समय निकै लोकप्रिय हुन थालेको छ । खासमा गाउँ गाउँबाट प्रतिष्पर्धीको रुपमा सहभागी हुने होरैयाहरुको टोली । केहि वर्ष अघिसम्म श्रीपञ्चमीदेखि सुरु हुने फागु गायन फागु पूर्णिमासम्म चल्ने गर्दथ्यो । अचेल गाउँघरमा फागुको डम्फा अलि कम सुन्न थालिएको छ । होरी गायन परम्परालाई जिवित राख्न मिनापको अभियान सफल हुँदै गएको महसूश गर्न थालिएको छ । खासमा ग्रामीण होरैया समूहमा युवाहरुको सहभागिता आह् लादक छ । एक वर्षपछि आउने वसन्तको कल्पना केहि शब्द खर्चेर सजिलै गर्न सकिँदो रैछ । मैले गर्न पनि भ्याए तर यस एक वर्षभित्र गर्मी आउँछ । वर्षा आउँछ । जाडो आउँछ अनि वल्ल आउँने हो वसन्त । एक वर्षमा ३ सय ६५ दिन हुन्छ । एक दिनमा २४ घण्टा अनि एक घण्टामा ६० मिनेट र एक मिनटमा ६० सेकेण्ड हुन्छ । हामी हुने वा नहुने विषयको निर्धारण केहि सेकेण्डले गर्न सक्ने हैसियत राख्छ । फेरी एक वर्ष भित्र आउने शितलहरले जनजीवन अस्त–व्यस्त बनाउँछ । बाढीले अनेकौ घर परिवार तवाह गर्छ । झाडा पखालादेखि कोरोनासम्मको महामारीले हजारौंको ज्यान लिन्छ । सधैंभरि वसन्तको कल्पनामा तल्लीन रहने हामी बाढी,शितलहर,कोरोना जस्ता विपदाहरुको वास्तै गर्दैनौं । तर फागु पर्वको श्रीगणेश गर्ने हाम्रा पुर्खाहरु दूरद्रष्टा थिए । उनीहरु एक वर्षमा आउने ३ सय ६५ दिनको महत्व थाहा थियो । त्यसैले त फागु पर्वको समापनमा धूरा उडाउँदै मन्त्र जाप गर्ने परम्परा बसाल्नु भयो –‘ जे मरे से लेखा लिए । जे जिए से खेले फागु । ’

Comment


Related News

Latest News

Trending News