अपडेट 
२०७९ फाल्गुन २८, आईतवार ०८:३८

रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि सभापति पदमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

अगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि शनिबार निर्धारित समयमा सो संख्यामा उम्मेदवारी दर्ता भएको छ । २१ सदस्यीय स्ववियु कार्यसमितिका लागि कुल ८८ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृत रेमन्त मौरवैताले जानकारी दिए । उनका अनुसार रारावको स्ववियु कार्यसमितिमा ११ जना प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित भएर चयन गरिने छन् । सभापति पदमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकट लोकतान्त्रिक विद्यार्थी संघकोतर्फबाट प्रशान्त झा, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको तर्फबाट मनिषकुमार यादव र पाँच दलीय गठबन्धनको साझा उम्मेदवारको रुपमा सामजवादी विद्यार्थी युनियनका गौतम यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

यस गठबन्धनमा नेकपा एमाले निकट अनेरास्वयू, माओवादी केन्द्रका अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी पार्टी र राप्रपा निकटका विद्यार्थी संगठन छन् । त्यस्तै जनमत पार्टीनिकट विद्यार्थी जनमत संघको तर्फबाट इजाज मोमिन, स्वतन्त्र विद्यार्थी समूहबाट कन्हैयाकुमार पासवान र राष्ट्रिय विद्यार्थी परिषदबाट अभिशेष साहले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । लोसपा, काँग्रेस, जनमत, राविपको संगठनहरुले बिना गठबन्धन गरी प्यानलसहित उम्मेदवारी दिएका छन् ।

एक स्वतन्त्र समूहले पनि प्यानलसहित उम्मेदवारी दिएका छन् भने पाँच दलीय गठबन्धनले सिट बाँडफाँड गरी उम्मेदवारी दर्ता गराएका छन् । लामो समयपछि हुन लागेको स्ववियू निर्वाचनले क्याम्पसको माहौल निर्वाचनमय बनेको छ । विद्यार्थी नेता र विद्यार्थीहरुमा पनि निर्वाचनलाई लिएर नयाँ उत्साह देखिएको छ ।

नेताहरुले उम्मेदवारी दर्ता गरेसँगै प्रचार प्रसारमा व्यस्त भएका छन् । उनीहरु आफ्नो एजेण्डा र चुनावी नारा विद्यार्थी समक्ष राखिरहेका छन् । स्थानीय शीर्ष नेताहरुलाई पनि माहौल आफ्नो पक्षमा बनाउन गुहार गरिरहेका छन् । राराबको चुनावमा प्रदेश सांसदहरले पनि चासो देखाएको देखिन्छ । पार्टीका नेताहरुले आफ्ना उम्मेदवारलाई जिताउन गृहकार्य सुरु गरेका छन् । उम्मेदवारहरु माथि दावी विरोध र छानबिन, सोमबार उम्मेदवारी फिर्ता र अन्तिम नमावली प्रकाशन र चैत ५ गते निर्वाचन हुने तालिका छन् ।

Comment


Related News

Latest News

Trending News