
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहले विगत ५ महिनादेखि तलब नदिएको भन्दै कर्मचारीहरूले कार्यालयमा ताला लगाएका छन् । प्रशासकीय अधिकृत जितेन्द्र कुमार यादवले आफूहरू गत कार्तिक महिनादेखि नै तलब पाउन नसकेका कारण घरपरिवार चलाउन समस्या हुँदा बाध्य भएर सबै कर्मचारी मिलेर कार्यालयमा तालाबन्दी गरेको बताए ।
उनले वृहत्तरका अध्यक्ष साहले संस्थाको उद्देश्य विपरीतका कामहरू गरिरहेको बताउँदै अध्यक्षको कार्यशैलीबाट कर्मचारीहरू पीडित बनेको बताए। अध्यक्ष साहले सम्पूर्ण कार्यकारी अधिकार आफूसँगै राखेको र कार्यालयको दर्ता चलानी पनि प्रशासन मातहत नभइ अध्यक्षको सचिवालयमै रहेकोले कर्मचारीलाई काम गर्नसमेत धेरै कठिनाइ भइरहेको यादवले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको यस संस्थाले मन्त्रालयसँग समयमा तलब निकासाका लागि माग नगरेकोले यस्तो अवस्थाको सिर्जनाको भएको उनले बताए । संस्था मातहतका १५÷२० वटा योजनाहरूमध्ये आर्थिक मसान्त समाप्त हुन ४ महिना बाँकी रहँदासम्म कुनैपनि योजनाको काम शुरुवातसमेत हुन नसकेको उनले जानकारी दिए । वृहत्तरले समयमा प्रगति विवरणसमेत पेश नगरेकोले तलब निकासामा समस्या भएको बताउँदै यादवले आफूहरू दशैं, तिहार र छठजस्तो पर्वमा पनि तलब पाउन नसकेको सुनाए । उनले वृहत्तरमा अध्यक्ष साह आएसँगै कर्मचारीहरूलाई तलबका लागि आन्तरिक रुपमा संघर्ष गर्नुपर्ने अवस्था उत्पन्न भएको गुनासोसमेत सुनाए ।
अध्यक्ष साहले एक नम्बरमा रहेका नासु संजय कुमार मण्डललाई नभई उनीभन्दा कनिष्ठ नासु अशोक कुमार ठाकुरलाई लेखापालको जिम्मेवारी दिएकोले अध्यक्षकै निर्देशनानुसार लेखापालले पनि काम गरिरहेको जितेन्द्रले बताए । फागुन ५ गते परिषद्का अध्यक्ष साहको अध्यक्षतामा कर्मचारी बैठकमा निर्णय भए अनुसार कर्मचारीको तलब होली पर्व अगाडि खुवाउने निर्णय सर्वसम्मतबाट गरिए पनि हालसम्म तलब नखुवाएको उनको भनाइ छ । यस आर्थिक वर्षमा हुने पूँजीगत काम सम्बन्धी योजना शाखाको काम हालसम्म शुन्य रहेको र प्राविधिक शाखामा खटिएको कर्मचारीहरूको म्याद थप नगरेकोले सम्बन्धित निकायबाट निकासा लिन जाँदा प्रगति समेत नदेखिएकोले हालसम्म दोस्रो र तेस्रो निकासा नदिइएको यादवले बताए । उनले अध्यक्ष साहले अधिकारको दुरुपयोग गरी दर्जनौं कामहरू गरेकोसमेत आरोप लगाए । अध्यक्ष साहले आर्थिक वर्ष २०७९÷०८० मा चाडपर्व शीर्षकमा मात्र ३ लाख रकम विनियोजन भएकोमा आफुखुशी २५ लाख रुपैयाँ आन्तरिक कोष तथा पूँजीगत शीर्षकबाट खर्च गरेको उनको कर्मचारीहरूको आरोप छ । इन्धन शीर्षकमा मात्र ३ लाख रकम विनियोजन भएकोमा पूँजीगत कार्य शून्य रहेता पनि आफूखुसी झण्डै ५–७ लाख रुपैयाँ खर्च गर्नुका साथै सम्पर्क कार्यालय काठमाण्डुमा नरहे पनि परिषद्का लेखापाललाई अध्यक्ष साहले काठमाण्डु सरुवा गरेको यादवको भनाइ छ । जानकी मन्दिर नजिक रघुपति मिष्ठान भण्डारको छेउमा डिजिटल डिस्प्ले वोर्ड योजना स्वीकृत नभइ आफूखुसी जडान गराउनुका साथै प्रचारप्रसारका लागि अन्य व्यक्तिको नम्बर उल्लेख गरिएको उनले सुनाए ।
निमित्त कार्यकारी निर्देशक चिरन्जीवीराज ढुङ्गानाले पेश्की स्वरुप नियम विपरित २ लाख रुपैयाँ लिइ आफ्नो निजी काममा खर्च गरेको र कर्मचारीको तलब दिन आनाकानी गरिरहेको उनको गुनासो छ । आर्थिक वर्ष २०७९÷०८० को कार्यक्रमहरू ीक्ष्ःद्यक् मा ईन्ट्री भइसकेको योजनाहरू आफूखुसी परिवर्तन गर्न चाहेकोले हालसम्म पूँजीगतको प्रगति शून्य रहेता पनि २०–२५ प्रतिशत प्रगति देखाइएको कर्मचारीहरूको दाबी छ ।