अपडेट 
२०७९ फाल्गुन २९, सोमबार ०७:५४

धनुषाको महेन्द्रनगर इलाका प्रहरी कार्यालयको हिरासत फोडेर लामो समयदेखि फरार एक थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका– ७ का ३६ वर्षीय शंकर महतो रहेका छन् ।

उनलाई शनिबार राति ८ बजे पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १६ इनर्वास्थित भन्सार हुँदै लुकीछिपी नेपालबाट भारततर्फ भाग्ने क्रममा पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए । माघ १२ गते उनी हातहतियार खरखजाना मुद्दामा मिथिला नगरपालिका –२ स्थित नक्टाझिजबाट पक्राउ परेका थिए । गत फागुन १५ गते राति ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर ६ जना थुनुवा फरार भएका थिए । जसमध्ये चारजनालाई भागेको एकसाता भित्रै प्रहरीले पक्राउ गरेको थियो । घटना पश्चात जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरी कार्यालयले संयुक्त प्रहरी टोली परिचालन गरी व्यापक सर्च अपरेसन चलाइएको थियो । खोजतलास गर्ने क्रममा घटनाकै भोलिपल्ट पुस १६ गते हातहतियार तथा खरखजाना मुद्दाका मिथिला नगरपालिका– ६ का २८ वर्षीय रोशन महतो, फागुन १७ गते शान्तिसुरक्षा विरुद्धको मुद्दाका अभियुक्त क्षीरेश्वरनाथ नगरपालिका –२ का २५ वर्षीय हरिदीप सिंह र २५ वर्षीय अमित मण्डलाई पक्राउ गरेको थियो । यसैगरी लागूऔषध मुद्दाका अभियुक्त १८ गते राति क्षीरेश्वरनाथ नगरपालिका–५ का ३९ वर्षीय विनोद कुमार शर्मालाई प्रहरीले पक्राउ गरेको थियो ।एकजना थुनुवा भने अझै फरार रहेका छन् ।

Comment

Related News

Latest News

Trending News