अपडेट 
२०७९ फाल्गुन ३०, मंगलवार ०७:३२

राष्ट्रपति रामचन्द्र पौडेलले कार्यभार ग्रहण गरेको दिनदेखि उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवले प्रचार प्रसारलाई तीव्र बनाएका छन् ।

उपराष्ट्रपतिका उम्मेदवार यादवलाई सत्तारुढ गठबन्धनको बलियो समर्थन रहेको छ । त्यही गठबन्धनको समर्थनमा राष्ट्रपतिमा पौडेल निर्वाचित भएका छन् । बाराको निर्वाचन क्षेत्र नम्बर – २ बाट प्रतिनिधिसभामा निर्वाचित यादवलाई जनता समाजवादी पार्टी(जसपा)ले उपराष्ट्रपतिमा उठाएको छ । यादवको उम्मेदवारी बदर गर्न निर्वाचन आयोग र केही दलका नेताहरुबाट भएको प्रयास असफल भए लगतै एकतर्फी रुपमा प्रचार देखिएको छ ।

यादवको प्रचारमा खटेका पर्साको निर्वाचन क्षेत्र नम्बर– २ का सांसद प्रदीप यादवले दलका शीर्ष नेताहरुसित भएको छलफल अत्यन्त उत्साहजनक रहेको बताए । ‘प्रचार प्रसारको क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनकै उम्मेदवार जित्ने निश्चित रहेको विश्वास दिलाएका छन्’ उनले भने, उपराष्ट्रपतिमा पनि राष्ट्रपतिकै जस्तो भारी अन्तरले गठबन्धनका उम्मेदवार यादव निर्वाचित हुनेछन् । प्रचारको क्रममा नेताहरुसित उम्मेदवार यादव स्वयंले भेंटेर मत मागिरहेका छन् ।यादवको पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)पनि रहने बताइएको छ ।राष्ट्रपति चुनावमा रास्वपाले पौडेलको पक्षमा मतदान गरेका थिए । उपराष्ट्रपतिमा ४ जना उम्मेदवार मध्ये प्रमिला यादवले रामसहाय यादवलाई समर्थन गरीसकेकी छन् ।उनी यादवको पक्षमा मत माग्ने टोलीमा सक्रिय छन् ।

एमालेकी अष्टलक्ष्मी शाक्य र जनमतकी ममता झाको उम्मेदवारी कायमै छ ।उनीहरुले कसैलाई समर्थन गरेका छैनन् ।जसपाले प्रमिला यादवलाई रामसहाय यादवको विकल्पमा उम्मेदवार बनाएको थियो । जसपाले प्रचारलाई तीव्रता दिए पनि अन्य उम्मेदवारहरुले आक्रमक प्रचार शैली अपनाएका छैनन् ।जनमतकी झालाई लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका छन् ।तर उनीहरुसित मतभार कम रहेको छ । सर्वाधिक मतभार भएको एमालेकी अष्टलक्ष्मीलाई पनि अन्य दलले समर्थन जनाएका छैनन् । चैत २७ गते उम्मेदवारी दर्ता भएको उपराष्ट्रपतिका लागि चैत ३ गते मतदान हुनेछ । उपराष्ट्रपतिको चुनावमा संघीय सांसद र प्रदेश सांसद मतदाता रहेका छन् । यसमा पनि संघीय सांसदको मतभार ८७ र प्रदेश सांसदको मतभार ५३ रहेको छ । यादवको पक्षमा जसपाका अतिरिक्त नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र राष्ट्रिय जनमोर्चाले मतदान गर्नेछन् ।

त्यसैगरी, रास्वपाले मत दिने विश्वास दिलाएको जसपाका केन्द्रीय सदस्य योगेन्द्र यादवले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिंगदेनले यादवलाई मतदान गर्न पार्टीको निर्णय गर्ने आश्वासन दिएको उनले जनाए । सत्तारुढ गठबन्धनमा रहे पनि अलगै उम्मेदवारी दिएको जनमत पार्टीकी उम्मेदवार झाको पक्षमा लोसपा र नागरिक उन्मुक्ति पार्टीले मतदान गर्ने निर्णय गरेको छ ।हालसम्म एमालेले अन्य दलको समर्थन प्राप्त गरिसकेको छैन् ।राष्ट्रपति चुनावमा पनि एमाले एक्लै रहेको थियो ।

Comment


Related News

Latest News

Trending News