२०७९ फाल्गुन ३०, मंगलवार ०८:०७

वीरगञ्जको अलौमा गर्न लागिएको शतचण्डी महायज्ञमा दलित समुदायलाई विभेद गरेको भन्दै प्रदर्शन भएको छ ।

वीरगञ्ज महानगरपालिका–१७ अलौमा ८ देखि १७ चैतसम्म हुने महायज्ञको तयारीका क्रममा दलित समुदायलाई विभेद गरिएको भन्दै दलित समुदायले जिल्ला प्रशासन कार्यालय बाहिर प्रदर्शन गरेका छन्। पूजा समितिले दलित समुदायलाई पूजामा सहभागी हुन नदिने भनेर छुवाछुतको विभेद गरेको उनीहरुको भनाइ छ । प्रदर्शनमा सहभागीले दलितले मन्दिरमा जान मिल्दैन ?, दलित समुदायमाथि अत्याचार, दलितले मन्दिरमा पूजा गर्न किन मिल्दैन ? भेदभाव गर्न पाइदैन लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए। प्रदर्शनमा सहभागी खुबलाल महराले पूजामा बस्न नदिने भनेपछि विरोधमा उत्रिएको बताए । ‘अलौमा यज्ञ हुँदैछ, हाम्रो पनि श्रद्धा छ । यज्ञमा हामी पनि बस्छौं भनेर पूजा समितिलाई भनिरहेका थियौं’, उनले भने ‘सबै काम गर्नु तर चौका –पूजा गर्ने ठाउँ) मा नबस्नु भन्छन्, चौकामा बस्न पाईदैन भने अरु काम किन गर्ने ?’ गाउँमा समस्या समाधान नहुने देखेपछि जिल्ला प्रशासन कार्यालय पर्सामा न्याय माग्न आएको उनले बताए । पूजाका लागि रमेश चौधरीको संयोजकत्वमा ३५ सदस्यीय समिति बनाइएको छ । समितिमा सुरुमा दलित समुदायको समेत नाम राखिएकोमा पछि हटाइएको उनीहरुको आरोप छ ।

अलौंका कृष्णा रामले दलितलाई महायज्ञमा बस्न नदिनु कानुन विपरीत भएको बताए । ‘कानुनले जातीय छुवाछूत निषेध गरेको छ, छुवाछुतको भेदभाव हुने नै पूजापाठमा हो, तर यो हटेको छैन’ उनले भने, ‘हामीले पनि यज्ञमा गैरदलितले जसरी नै बस्न पाउनुपर्छ । भनेका छौं, हाम्रो हक मिल्दैन भने कानुनी प्रक्रियामा जान्छौं ।’ पूजा समितिका सदस्य एवं मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद चौधरीले पनि विभेद गरेको स्वीकारेका छन् । उनले यज्ञलाई परम्परागत रुपमै सञ्चालन गर्न खोजिएको प्रतिक्रिया दिए । ‘२२ वर्षपछि गाउँ समाज जुटेर पूजाको आयोजना गरेका छौं, समितिमा दलित, मुस्लिम सबैलाई राखेका छौं, ध्वजा रोपणमा सबै सहभागी भएका थियौं’, उनले भने, ‘बसेर विधिको पूजा गर्न चलन छैन भनेर गाउँ समाजले मानिरहेका छैनन् । गाउँ समाजले मान्छ भने समितिलाई कुनै आपत्ति छैन ।’ जिल्ला प्रशासनमा निवेदन प्रदर्शनपछि दलित अगुवाहरुले यज्ञमा सहभागी हुन नदिने भनेर विभेद गरेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएका छन् । सम्पूर्ण गाउँलेको सहयोगमा चैत ८ गतेदेखि गाउँमा आयोजना गर्न लागिएको सप्तचण्डी महायज्ञमा दलित समुदायलाई विभेद गरी यज्ञमा सहभागी नगर्ने भनी छुवाछुतको भेदभाव गरेको उल्लेख गरिएको छ । उनीहरुले पूजा समितिमा रहेकाहरुविरुद्ध उजुरी दिएका हुन् ।

विपक्षीलाई झिकाएर छुवाछुत भेदभाव गरे वापत नियमानुसार कारबाही गर्नुपर्ने उनीहरुको माग छ । सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले दलित समुदायको निवदेन आएको पुष्टी गरे । उनले घटना के भएको हो भनेर बुझ्न पूजा समितिका मानिसहरुलाई मंगलबार प्रशासन कार्यालयमा बोलाइएको बताए ।

Comment


Related News

Latest News

Trending News