अपडेट 
२०७९ चैत्र १, बुधबार ०७:५५

रौतहट जिल्लाको राजदेवी नगरपालिका ७ मुडलवाका कृष्ण यादवले छोराको हत्यारालाई कानूनी दायरामा ल्याउन प्रहरीले नचाहेको आरोप लगाउँदै त्यसका लागि आमरण अनशन बस्ने बताएका छन् ।

यादवका २४ वर्षीय छोरा अभिमन्यु कुमार यादवको हत्या भएको ७ महिना बितिसक्दा पनि प्रहरीले दोषीलाई पक्राउ गर्न चासो नदेखाएको आरोप छ । ‘छोराको हत्यारालाई प्रहरीले जोगाउन खोजेको छ ’मृतकका पिता यादवले भने, हामीले दिएको जाहेरी समेत दर्ता गरिएको छैन् । प्रहरीले अनुसन्धानको नाममा मात्र अश्वासन दिइरहेको उनको आरोप छ । छोराको मृत्यु भएदेखि निरन्तर जिल्ला प्रहरी कार्यालय रौतहटमा धाएको दुखेसो पोख्दै यादवले भने, तर प्रहरीले मुद्दा पनि दर्ता गर्दैन्, दोषीलाई पक्राउ गर्न समेत चासो देखाउँदैन् । जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदनमा घटनाको विस्तृत विवरण उल्लेख गरिएको उनले दाबी गरे । गाउँकै एकजना केटीसँग ४ वर्षदेखि छोराको प्रेम चलेको उल्लेख गर्दै उनले प्रेमिकाले मोबाइलमा सम्पर्क गरी सुनसरी जिल्लाको इटहरीबाट बोलाएको कृष्ण यादवले दाबी गरे । मृतक इटहरीमा एउटा कन्सट्रक्सन कम्पनीमा कार्यरत्त थिए ।

केटीले बोलाएकै दिन गत असोज १४ गते दशैको पञ्चमीको चहलपहल बढेको बेला उनको हत्या गरी लाशलाई भारतीय भूमिमा फालिएको पीडित परिवारको आशंका छ । मृतकका पिताले नेपालमा हत्या गरी घटनालाई लुकाउने प्रमाणहरू केही नभेट्ने उद्देश्यले भारत बिहारको सीतामढी जिल्लाका बैरगनिया सहप्रखण्डको मसहा गाउँ नजिक रहेको रेल्वे पटरीमा शव राखेको दाबी गरेका छन् । ‘हत्या नेपालमै भएको र प्रमाण नष्टगर्न शव भारतीय भूमिमा फालिएको प्रष्ट भइसकेको छ ’ कृष्ण यादवले भने, मेरो छोरालाई इटहरीबाट बोलाउने फोन नम्बरपनि पहिचान भइसकेको अवस्था छ ।तर पनि अनुसन्धानलाई अगाडी बढाइएको छैन् ।

छोरासित प्रेम सम्बन्धमा रहेकी बुवा र उनका आफन्तले पटक–पटक छोरा र मलाई ज्यान मार्ने धम्की दिने गरेको सञ्चारकर्मीहरुलाई उनले सुनाए । धम्की दिएको सुन्ने साक्षीहरु मध्ये राजदेवी नगरपालिकाका मेयर भिखारी प्रसाद यादव, वडाअध्यक्ष लगायत अन्य कयौं व्यक्तिहरु रहेको उनले दावी गरे । राम्रो शिक्षा हासिल गरेको छोरा अभिमन्युलाई गाउँ वा जिल्लामा बसेपछि बेला–बेला केटीको बिषयमा बादविवाद हुन्छ भने डरले इटहरीमा रहेको कन्ट्रक्सन कम्पनीमा अमिनी पदमा जागिर लगाएको उनले बताए । केटीलाई नै प्रयोग गरी षडयन्त्रपूर्ण ढंगले मेरो छोरालाई बोलाउन लगाएर हत्या गरी भारतमा शव फालेको उनको कथन छ । प्रहरीलाई अनुसन्धान गरी दोषीहरु उपर कारवाही गर्न ७ महिनादेखि जिप्रका रौतहटमा दिन भरी रोएर बिताउने गरे पनि कुनै सुनवाई नभएको कृष्णले आरोप लगाए ।

यादवको ४ सन्तान मध्ये मृतक अभिमन्यु सबै भन्दा कान्छो थिए ।‘ छोराको हत्या भएको ६ महिना बित्दा सातौं महिना सुरु हुन लागे तर न्यायको कुनै आशा देखिएको छैन ’ उनले भने, अब दोषीलाई कारवाही गर्न प्रहरीले ठोस कदम नचाले जिल्ला प्रहरी कार्यालय अगाडि आमरण अनशन गरेर ज्यान दिन्छु । पीडित यादवको घरमा छोराको हत्या भएदेखि कुनै किसिमको चाडपर्व दशै, तिहार, छठ र होलीमा खुशी आउन सकेको छैनन् । ‘आज केही हुन्छ, कि भोलि केही नयाँ कुरा सुन्न पाउछौ, कि मनमा जागिएका आशाको साथ ५ किलोमिटरको बाटो बृद्धाअस्थामा दिनहुँ नापी रहेको छु ’ उनले भने, प्रहरीले चाहे मोबाइलकै नम्बरबाट सबै दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्न सक्छ ।तर प्रहरीले चासो नै नलिएको उनको आरोप छ । प्रहरी कार्यालय गौरमा किटानी जाहेरी दिएपनि त्यसमा उल्लेखित व्यक्ति दोषी हो कि होइन भने ल्याएर अनुसन्धान गर्न भन्दाभन्दै पनि प्रहरीले जाहेरी दर्ता गर्न तयार नरहेको उनले बताए ।

पीडित कृष्ण यादवले शंकास्पद व्यक्तिको नाम समेत प्रहरीलाई बताउँदा वास्ता नगरेको यादवको पीडा छ । ‘प्रहरीले हाम्रो पीडा बुझ्न चाहेनन्’ उनले भने, हाम्रो अन्तिम विकल्प छोराको हत्यारालाई कारवाही गर्न नसकेर जिल्ला प्रहरी कार्यालय अगाडि बुढाबुढीले आमरण अनशन गरी देह त्याग गर्नु नै हो । यस सम्बन्धमा रौतहटका प्रहरी प्रमुख एसपी बिरबहादुर बुढामगरले घटनाको अनुसन्धान जारी रहेको बताए ।‘भारतीय भूमिमा शव फेला परेको र भारतीय प्रहरी समेतको सहयोगमा अनुसन्धान भइरहेको छ ’ उनले भने, पीडित परिवारले जिल्ला प्रहरीमा जाहेरी नदिई उजुरी मात्र दिएका छन् । अनुसन्धानको क्रममा नै रहेकाले पीडितले आशंका गरिएका व्यक्तिहरुलाई नियन्त्रणमा नलिए पनि निगरानीमा राखिएको उनले बताए ।

Comment


Related News