
मधेश प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौंमा हुन लागेको शप्तचण्डी महायज्ञमा आयोजक समितिले प्रवेश गर्न नदिने भएपछि दलित समुदाय आन्दोलित भएका छन् ।
वीरगञ्जको अलौंमा आगामी चैत ८ गते देखि प्रारम्भ हुने शप्तचण्डी महायज्ञको आयोजना झण्डै २० वर्षपछि हुन लागेको छ । २ दशकपछि हुन लागेको महायज्ञमा दलितलाई प्रवेश निषेध गरिएको विरोधमा दलित समुदाय आन्दोलित भएका छन् । उनीहरुले महायज्ञ आयोजकको विरोध गर्दै सडकमा प्रदर्शन गर्न थालेका छन् । नेपालको संविधान प्रदत्त अधिकार उपभोग गर्न पाउनुपर्ने उनीहरुको माग छ । नेपाल अधिराज्यको संविधानले जात, धर्म, भाषा,लिंग, रंगको आधारमा कसैले कसैलाई विभेद गर्न नपाउने प्रावधान छ ।संविधानले प्रदान गरेको अधिकारको उपभोग गर्न महायज्ञ आयोजक समितिले अवरोध गरेको आरोप लगाउँदै दलित समुदायले निर्वाध रुपमा महायज्ञमा सहभागिताको माग गरेका छन् ।महायज्ञमा प्रवेश नदिए आन्दोलनलाई झन् कडा बनाउने चेतावनीसमेत दिएका छन् । दलित समुदायलाई अन्य समुदायका मानिसहरुले अछुतको व्यवहार गरिरहेका छन् ।दलित जातिमा डोम, दुसाध, मुसहर, खत्बे, चमार, हलखोरलगायतका जातिहरु रहेका छन् । संविधान र कानूनले विभेद नगरे पनि कथित उच्च जातिका व्यक्तिहरुले महायज्ञ आयोजक समितिमा आफूहरुलाई सहभागी नगराएको आरोप लगाएका छन् ।
महायज्ञक ा े आयोजना सम्बन्धी प्रारम्भिक छलफलदेखि नै दलित समुदायले आफ्नो सहभागिता हुनुपर्ने लिखित, मौखिक माग गर्दै आएका छन् ।तर आयोजक समितिले उनीहरुको मागलाई वेवास्ता गर्दै आएका छन् । महायज्ञ आयोजक समितिले मागको सुनुवाइ नगरेको र अधिकारको रक्षा गर्ने निकायहरु प्रहरी प्रशासन, मानव अधिकारकर्मी, प्रदेश सरकार, महानगरपालिकालगायतले बेवास्ता गरेको दलितहरुको दुखेसो छ । महायज्ञका लागि विभिन्न स्थान र व्यक्तिबाट चन्दा उठाइए पनि हामीले दिएको चन्दासमेत नलिएको उनीहरुले दुखेसो पोखेका छन् । महायज्ञ सञ्चालनको मुखमा दलित आन्दोलन चर्किन थालेपछि स्थानीय प्रशासनले चासो देखाएको छ ।पर्सा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले समस्या समाधाका लागि दुबै पक्षलाई बोलाएर छलफल गर्ने बताएका छन् । तर दलितहरुको प्रदर्शन जारी छ । दलित युवा मोहनले माग पूरा नभए महायज्ञ उद्घाटनको दिन सशक्त विरोध प्रदर्शन गर्ने चेतावनी दिएका छन् । आफूहरुसित जातको आधारमा विभेद गर्नेहरुलाई कारबाहीको मागसमेत उनले गरेका छन् ।