अपडेट 
२०७९ चैत्र १, बुधबार ०९:३५

जनकपुरधामका सडकमा छाडिएका पशु चौपाया नियन्त्रण गर्न सम्बन्धित निकायले बेवास्ता गर्दा समस्या विकराल बन्दै गएको छ ।

जनकपुरधाम उप– महानगरपालिका छाडा पशु चौपायाको व्यवस्थापनका विषयमा गम्भीर नहुँदा छाडा चौपायाले गर्दा नगर क्षेत्रका सडकहरु अस्त–व्यवस्त बनेका छन् । कहिले काँही ट्राफिक प्रहरीसंगको पहलमा छाडा चौपायालाई नगर क्षेत्रको एक चोकबाट अर्को चोकमा लखेट्ने बाहेक खासै पहल नहुँदा चौपाया धनीहरुको मनोबल बढेको छ । पशुको उत्पादन लिने र गाई वस्तुलाई छाडा छोड्ने प्रवृतिले गर्दा दिनप्रतिदिन छाडा चौपायाको समस्या विकराल बन्दै गएको जनकपुरधाम नगरपालिका–४का राजीब कर्णको कथन छ । छाडा चौपायाकै कारण मोटरसाइकल दुर्घटनामा परिसकेका जनकपुरधाम नगरपालिका–९ का राकेश साह भन्छन्,‘छाडा चौपायाको कारण नै मलाई एक महिना अस्पतालमा बस्नु परेको थियो,छाडा चौपायालाई तत्काल स्थानीय तहले नियन्त्रण गर्नुपर्छ।’ छाडा चौपायाको कारण सबभन्दा बढी प्रभाव नगर क्षेत्रको ट्राफिक व्यवस्थापनमा पर्ने गरेको जिल्ला ट्राफिक कार्यालय जनकपुरधामका प्रहरी निरीक्षक शेखर कुमार साह बताउँछन् । उनी भन्छन्,‘छाडा चौपाया नियन्त्रण गर्नेै पर्छ अन्यथा यसले गर्दा सडक दुर्घटनाको जोखिम अत्यधिक हुन्छ।’ जनकपुरधाम उपमहानगरपालिकाले गाई गौशाला निर्माण गर्न लागेकोले छाडा चौपायाको समस्या चाँडै समाधान हुने उनको कथन थियो ।

जउनपा तथा ट्राफिक प्रहरीको संयुक्त पहलमा कहिले काँही चौपायालाई एक चोकबाट अर्को चोक तिर धपाउने बाहेक खासै कुनै पहल नहुँदा समस्या विकराल बन्दै गएको छ । छाडा पशु चौपायाका कारण सडकमा दुर्घटनाको जोखिम बढेको छ भने सवारीसाधनलाई आफ्नो गति तय गर्न कठिनाइ देखिएको छ । सडकमा गाईगोरु, बाछा– बाछी र कुकुरलगायत दर्जनौँ पशु चौपाया छाडिएका छन् । कानूनले सडकमा छाडा पशु र चौपाया व्यवस्थित गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । छाडा चौपाया नियन्त्रणका लागि जनकपुरधाम उपमहानगरपालिका–४ क्याम्पस चोकस्थित गाई गौशाला निर्माण भइरहेको र आगामी १५ दिन भित्रै छाडा चौपाया नियन्त्रण अभियान सञ्चालन गर्ने मेयर मनोज कुमार साह बताउँछन् । छाडा चौपायाको समस्या ठूलो रुप लिइरहेको स्विकार गर्दै उनले भने,‘गाई गौशाला निर्माण सम्पन्न भइसकेको छैन तर हामीले १५ दिनपछि छाडा चौपाया समातेर गौशालामा राख्न शुरु गर्नेछौं।’ नेपालको संविधानले स्थानीय तहलाई छाडा चौपाया व्यवस्थापनको अधिकार दिएको छ । स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद–३ अन्तर्गत दफा–११ को उपदफा २ मा छाडा पशु चौपायाको नियन्त्रण गर्ने अधिकार सुनिश्चत गरेको छ । अनाधिकृत रूपमा सडकमा छाडिएका पशु चौपायाले सडक ढाकिदिँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको एम्बुलेन्स चालक रोशन यादवले बताए । ‘बीच सडकमा छाडा पशुले बाटो छेकेर बस्छन्, गाडी रोकेर धपाउनुपर्छ ।’ मुख्य सडकसहित भित्री सडकहरूमा समेत छाडा चौपायाको समस्या रहेको चालकहरूको गुनासो छ ।

शिवचोक मिल्स एरिया,शिवचोक जानकी चोकलगायतको बाटोमा पशुले सम्पूर्ण बाटो नै छेकेर बस्ने गरेको दुर्भाग्यपूर्ण अवस्था रहेको जानकी चोकमा व्यापारी राजु गुप्ता बताउँछन् । सडकमा पशु चौपायालाई छाडा छाड्नेलाई पनि कारबाही हुने व्यवस्था लागु गर्न गुप्ताको माग छ । व्यापारी गुप्ता मात्र होइन उनी जस्ता दर्जनौ व्यवसायीहरु छाडा चौपायाको समस्यालाई लिएर सम्बन्धित निकायसंग माग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News