अपडेट 
२०७९ चैत्र २, बिहीबार ०६:४४

मधेश प्रदेश सरकारका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेश प्रसाद यादवले शिक्षामा सरकारले अर्बौं लगानी गरे पनि शून्य प्रगति रहेको बताएका छन् ।

बुधबार मन्त्रालयको सभाकक्षमै आयोजित पत्रकार सम्मेलनमा उनले एक महिनाको प्रगति र प्रदेश भ्रमण गर्दा देखेको अवस्था बारे सार्वजनिक गर्दै सो बताए । ‘खास गरी शिक्षा सम्बन्धी सरकारको लगानी अर्बौमा देखियो,’अनुगमन गर्दाको अनुभव सुनाउँदै उनले भने,‘तर, आउटपुट शून्य नै देखिएको छ ।’ प्रदेशको दक्षिण र सीमा क्षेत्रको विद्यालयको अवस्था निकै कमजोर पाइएको उनले बताए । मधेश प्रदेश सरकारको स्वामित्वमा विज्ञान प्रविधिसँग सम्बन्धित कुनै काम नभएको उनले ठहर गरे । शिक्षामा अहिलेकै जस्तो अवस्था रहने भए जटिल अवस्था आउन सक्ने बताउँदै उनले चिन्ता व्यक्त गरे ।

विद्यालय अनुगमनका क्रममा प्रधानाध्यापकहरु पूर्णकालीन राजनीतिमा लागेको, पठन–पाठन नहुने गरेको, अभिभावकमा चेतना अभाव र विगतका सरकारहरु अव्यवस्थित तथा अवैज्ञानिक ढंगले भौतिक संरचना निर्माणमा मात्रै ध्यान दिएको मन्त्री यादवको कथन छ । प्रदेशको शिक्षा अवस्था कमजोर हुनुको मुख्य कारण जिम्मेवार सबै पक्ष आफ्नो दायित्वबाट पछि हट्नु नै भएको उनले उल्लेख गरे । विश्वविद्यालय बोर्ड लगाएर मात्रै नहुने तर्क गर्दै प्रदेश सरकार मातहतको विश्वविद्यालय सञ्चालनको लागि पनि ठोस योजना तयार पारेको उनले जानकारी दिए । मधेशको विद्यालय तथा शिक्षाको अवस्था सुधार गर्न मन्त्री यादवले १६ बुँदै कार्ययोजना पनि सार्वजनिक गरेका छन् ।

उनले १६ बुँदै कार्ययोजनामा लचकदार व्यवहार अवलम्बन, नतीजामुखी नीति निर्माणमा जोड, त्रिपक्षीय समन्वय र साक्षर मधेश प्रदेश घोषणा जस्ता कार्यक्रमहरु राखेका छन् । सीमान्तकृत समुदायको लागि विशेष नीति ल्याउने, प्रादेशिक शिक्षा ऐन, दण्ड र पुरस्कारको नीति, शिक्षा विज्ञहरुसँग त्रैमासिक स्कुलिङ्ग र कृषि विश्वविद्यालयमा नयाँ वर्षदेखि पठनपाठन सुरु गर्ने मन्त्री यादवको योजना रहेकोछ ।

Comment


Related News