अपडेट 
२०७९ चैत्र २, बिहीबार ०६:४९

राजविराज | एक भारतीय महिलाले किर्ते गरी नागरिकता लिएकोले नेपाली नागरिकता बदरको माग गर्दै प्रहरीमा जाहेरी परेको छ । जिल्लाको राजगढ गाउँपालिका– ५का राधेश्याम झाले भारत बिहार राज्य जिल्ला मधुवनी ग्रामपंचायत लोकही वडा नं.५ कि फातमा खातुनले नाम परिवर्तन गरी ठकनी खातुन राखेर नेपाली नागरिकता प्राप्त गरेको दाबी प्रमाणसहित जाहेरी मार्फत छानबिन गरी कारबाहीको माग गरेका छन् ।

प्रहरीले वास्तविकता नबुझी जाहेरी दर्ता गर्न आलटाल गरेको भन्दै झाले बुधबार हुलाक मार्फत उक्त जाहेरी पठाएका छन् । फातमाले २०६४ साल बैशाख ८ गते नाम परिवर्तन गरी ठकनी खातुन राखेर जिल्ला प्रशासन कार्यालय सप्तरीबाट अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको जाहेरीमा उल्लेख छ । उनको नाममा जारी भएको भारतीय आधार कार्ड, भारतीय बैंकहरुमा खाता, भारतीय मतदाता सूचीमा नामसमेत रहेको तथा उनी भारतको लोकही ग्रामपंचायतको स्थायीवासी रहेको भनी त्यहाँका मुखिया शनिचरी देवीले प्रमाणित समेत गरिदिएको कागजातहरु जाहेरी संगै प्रमाणका रुपमा पेश गरिएको छ ।

लोकही ग्रामपंचायतका मुखिया शनिचरी देवीले प्रमाणित गरेको पत्रमा दाउद मंसुरीको पत्नी फातमा खातुन र ठकनी खातुन एउटै व्यक्ति भएको र उनी हालसम्म भारतीय नागरिक नै रहेको उल्लेख गरिएको छ । जाहेरीमा किर्ते गरी दुई देशको नागरिकता लिने र दुबै देशबाट सरकारी सुविधा लिने खातुन माथि छानबिन तथा नागरिकता ऐन २०६३ को दफा १२ बमोजिम कारबाही चलाउन आग्रह गरिएको छ । खातुनले प्राप्त गरेको नेपाली नागरिकताको प्रमाण पत्र नम्बर १६३०७२/७९ हो भने भारतीय आधार कार्ड नम्बर १२०७०१६२१९९६००००१४१८, एफ पीएस आईडी १२०७००२००००५ तथा ओएन ओआरसी इलिजीविटी एस रहेको छ । उनले प्राप्त गरेको नेपाली नागरिकतामा राजगढ गाउँपालिका–१ का मो.दाउद मंसुरीको पत्नी ठकनी खातुन उल्लेख छ ।

भारतीय आधार कार्डमा भने भारतको बिहार राज्य ग्रामपंचायत लोकही वार्ड नम्बर ५ का मो.दाउद मंसुरीको पत्नी फातमा खातुन भनी उल्लेख छ । फातमा खातुनको भारतीय आधार कार्ड नम्बर कै आधारमा इण्डियन बैंक इलाहबादमा खाता समेत संचालनमा रहेको पाइएको छ । उनको इण्डियन बैंकमा रहेको खाताको नम्बर ५९१०३०९१४८ रहेको प्रमाणमा देखिएको छ । जाहेरीमा खातुनको नाममा भारत बिहार राज्यको विधान सभा निर्वाचनका लागि तयार गरिएको मतदाता सूची समेत संलग्न गरी बुझाइएको छ । उक्त सूचीमा खातुनको मतदाता क्रमसंख्या ३४–जेड क्यूक्यू १८७४९८१ रहेको छ । जाहेरीमा खातुनले भारत सरकारको निर्वाचन आयोगबाट लिएको फोटो सहितको पहिचान पत्र र सपथ पत्र पनि समावेश गरिएको छ । यसबारे खातुन संग बुझ्न प्रयास गर्दा हाल उनी बाहिर गएकाले सम्पर्क हुन सकेनन् ।

यता प्रहरीले जाहेरी प्राप्त भएपछि वास्तविकता बुभ्mने काम हुने जनाएको छ । डिएसपी नरेश कुमार सिंहले यस्ता उजुरी जिल्ला प्रशासन कार्यालयमा दिँदा अझ उपयुक्त हुने धारणा राखे ।

Comment


Related News