
वीरगञ्ज महानगरपालिकाले अतिक्रमणमा परेका सार्वजनिक जग्गाहरुको खोजी कार्यलाई तीव्रता दिएको छ । महानगरपालिकाले समिति बनाएर अतिक्रमणमा परेका सार्वजनिक जग्गाहरुको खोजी अभियान चलाएको छ ।
दशकौदेखि व्यक्तिहरुले अतिक्रमण गरी प्रयोग गर्दै आएको सार्वजनिक जग्गाहरु नक्सा अनुसार खोजी गरी छुट् याउने कार्य एक महिना देखि महानगपालिकाले अभियानकै रुपमा अगाडि बढाएको छ । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १७ र १९ मा मात्र १५बिघा भन्दा बढी सार्वजनिक जग्गा खोजि गरिसकिएको जनाइएको छ । महानगरपालिकाका वडा नम्बर १९ साविक वर्वा गोगको वडा नम्बर ३मा एक दशकदेखि कोन्हियाका स्थानीयवासीहरुले खेतबारीको रुपमा प्रयोग गर्दै आएको ७ बिघा जग्गामा रहेको अतिक्रमण सोमबार नै हटाइएको छ । महानगरको टोलीले नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याएर तारबारका लागि खन्ने काम समेत गरेको छ । सार्वजनिक जग्गा छुट्याएर तारबार गरी वृक्षारोपण गर्ने महानगरको योजना रहेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताए । सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोली नक्सा लिएरै संम्भावित स्थानमा पुगेपछि जग्गा छुट् याएको छ ।
अतिक्रमित जग्गा वडा नम्वर १७ का स्थानीयले भोगचलन गर्दै आएको वडा नम्वर १९ का वडाध्यक्ष मुकेश कुमार चौरसियाले बताए । अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट् याउन दिनभर नापजाँच गरेर छुट् याउनुका साथै डोजर लगाएर सीमा छुट्याउने काम गरिएको उनले बताए । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले नगरक्षेत्र भित्र रहेका सार्वजनिक जग्गा पहिचान गरी महानगर माताहातमा ल्याउन अभियान अगाडि बढाएसँगै दुई दिनमा वडा नम्बर १९ को १२ विघा जग्गा आफ्नो अधिनमा ल्याउन सफल भएको बताए । प्रमुख सिंहले अतिक्रमित जग्गाको खोजी निरन्तर जारी रहने स्पष्ट पारेका छन् । अतिक्रमित जग्गा खोजी अभियान ३२ वटै वडामा संचालन गरिने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका कर्मचारी हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, वडा नम्बर १९ का वडा अध्यक्ष मुकेश कुमार चौरसिया, नगर प्रहरी प्रमुख हरि भुषाल, अमिन लेखनारायण कर्ण, अनिल पंण्डित, रामेश्वर प्रसाद कुशवाहा लगायत स्थानीयको सहभागितामा उक्त जग्गा नापजाँच गरी छुट्याइएको थियो । हरेक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखिकरण गरेर राख्न र आवश्यकता अनुसार प्रयोग गर्न महानगरले खोजी अभियान अघि बढाएको प्रमुख सिंहको भनाइछ ।
यस अघि महानगरपालिका वडा नम्वर १७ का वडासदस्य अमोद यादव सहित केही स्थानीयले भोगचलन गर्दै आएका कोन्हिया गाउको ५ बिघा जग्गा छुट्याएर नियन्त्रणमा लिएको छ । यादवले आफ्नो नाममा रहेको ७ कट्ठा जग्गाको आडमा ४ बिघा सार्वजनिक जग्गा अतिक्रमण गरी खेती गर्दै आएका थिए ।